Skip This
आकासे पुल बनाउने काठमाडौं महानगरको योजना ठाउँ नपाउँदा अलपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o७:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आकासे पुल बनाउने काठमाडौं महानगरको योजना ठाउँ नपाउँदा अलपत्र

चाबहिल, माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगन्ज, कोटेश्वर र गौशाला चोकमा आकासे पुल बनाउने योजना, तर तीन ठाउँमा मात्र पुल निर्माण

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:o३:oo

काठमाडौं महानगरपालिकाको १० ठाउँमा आकासे पुल निर्माण गर्ने योजना अलपत्र परेको छ । महानगरले ठाउँ अभावका कारण पुल निर्माणको काम अगाडि बढाउन नसकिएको जनाएको छ । महानगरले पैदलयात्रुको अत्यधिक चापलाई मध्यनजर गर्दै विभिन्न ठाउँमा आकासे पुल राख्न अध्ययन गरेको थियो । तर, आकासे पुल बनाउन ठाउँ अभाव हुँदा आकासे पुल निर्माण योजना अलपत्र परेको हो । 

महानगरले आकासे पुल निर्माण गर्न भन्दै ०७५ मंसिरमै टेन्डर आह्वान गर्नेसमेत तयारी गरेको थियो । तर, प्राविधिक कारण भन्दै स्थगित गरेको थियो । ‘महानगरपालिकाले पैदलयात्रुको चापलाई मध्यनजर गरेर १० ठाउँमा पुल निर्माणका लागि अध्ययन गरेको थियो । तर, आकासे पुल निर्माणका लागि जुन किसिमको ठाउँ चाहिने हो, त्यस्तो ठाउँ नपाउँदा पुल निर्माणको काम अगाडि बढाउन सकिएको छैन,’ महानगरका पूर्वाधार विकास विभाग प्रमुख राम थापाले भने, ‘हामीले जुन रूपमा १० ठाउँमा पुल निर्माणका लागि ठाउँ तोक्यौँ, ती ठाउँमा प्राविधिकले पुल निर्माण गर्न मिल्दैन भने ।’

महानगरले निर्माण गर्न लागेको पुल पुरानो बसपार्ककै मोडलको सार्न मिल्ने पुल हो । जुन पहिलोपटक परीक्षणका रूपमा महानगरले निर्माण गरेको थियो । यसको सञ्चालनपछि सकारात्मक प्रतिक्रिया आएकाले अरू पनि यस्तै पुल बनाउने निर्णय भएको थियो । तर, महानगरले ठाउँ अभावमा पुल निर्माण गर्न नसकेको हो । चाबहिल, माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगन्ज, कोटेश्वर र गौशाला चोकमा आकासे पुल बनाउने महानगरले योजना बनाएको थियो । पुल निर्माणकै लागि भनेर महानगरले आर्थिक वर्ष ०७५/७६ को बजेटमै १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

माइतीघर र चाबहिलमा मात्र पुल निर्माण
हाल माइतीघर र चाबहिलमा मात्र पुल निर्माण सम्पन्न भएको छ । जयबागेश्वरीको पुल नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत नगरिदिँदा अलपत्र परेको छ । ‘प्राधिकरणले तार अन्डरग्राउन्ड नगरिदिँदा हामीले जयबागेश्वरीमा काम गर्न पाएका छैनौँ । तीन–चार महिना भयो, उहाँहरूलाई तार सार्न आग्रह गरेको, तर अझै काम भएको छैन । हामीले छलफल गरिरहेका छौँ । उहाँहरूसँग कुरा मिल्नेबित्तिकै काम अगाडि बढ्छ,’ थापाले भने । 

महानगरले ठाउँ तोक्यो, तर प्राविधिकले त्यो ठाउँमा पुल बनाउन मिल्दैन भने
राम थापा, प्रमुख काठमाडौं महानगर पूर्वाधार विकास विभाग

महानगरपालिकाले पैदलयात्रुको चापलाई मध्यनजर गरेर १० ठाउँमा पुल निर्माणका लागि अध्ययन गरेको थियो । तर, आकासे पुल निर्माणका लागि जुन किसिमको ठाउँ चाहिने हो, त्यस्तो ठाउँ नपाउँदा पुल निर्माणको काम अगाडि बढाउन सकिएको छैन । हामीले जुन रूपमा १० ठाउँमा पुल निर्माणका लागि ठाउँ तोक्यौँ, ती ठाउँमा प्राविधिकले पुल निर्माण गर्न मिल्दैन भने ।

तीनवटा पुल निर्माणका लागि टेन्डर भएको महानगरले जनाएको छ । धोबीखोला, मित्रपार्क र पशुपतिनजिकैको अर्को पुलका लागि टेन्डर आह्वान भएको हो । ती तीन पुल निर्माणका लागि साढे तीन करोड लाग्ने भएको छ । ‘हामीले तीन ठाउँमा पुल निर्माणका लागि टेन्डर आह्वान गरेका छौँ । पहिला बनाएको सबै ठाउँ रद्द भएपछि अहिले थप ठाउँमा आकासे पुल निर्माण गर्न ठाउँ खोजिरहेका छौँ । तर, आकासे पुल निर्माणकै लागि भनेर फुटपाथ भेटेका छैनौँ,’ पूर्वाधार विकास प्रमुख थापाले भने । ती तीन ठाउँमा आकासे पुल निर्माण भएपछि अन्त पनि आवश्यकताअनुसार ठाउँ खोज्ने महानगरले बताएको छ । महानगरभित्र हाल न्युरोड, वीर अस्पताल, सुन्धारा, जमल, रत्नपार्क–भोटाहिटी, रत्नपार्क–बागबजार, भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा आकासे पुल सञ्चालनमा छन् । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएका पुल मर्मत गर्न नपर्ने अवस्थाका छन् ।

सार्न मिल्ने फलामको आकासे पुल
महानगरले निर्माण गरिरहेको आकासे पुल हाल सञ्चालनमा रहेको माइतीघर र पुरानो बसपार्कको जस्तै सार्न मिल्ने किसिमको हुनेछ । ‘यी आकासे पुल पुरानो बसपार्कमा भएका जस्तै नै हुन् । फलामका हुन्छन् । यिनको नट–बोल्ट खोलेर सजिलै अर्को ठाउँमा सार्न मिल्छ,’ थापाले भने, ‘यस्तो पुल कम खर्चमा बन्छ र फाइदै–फाइदा छ । हामीले १० वर्षअघि बनाएको पुरानो बसपार्क पुल अझै चलिरहेको छ ।’ उनका अनुसार पक्की पुल बनाएको भए निकै खर्च लाग्थ्यो । फलामको भएकाले करिब ३० लाख जति मात्र लाग्यो । त्यही पुलले फाइदा पुगेकाले गर्दा अरू त्यस्तै बनाउन लागेका हौँ । जसमध्ये पहिलो चरणमा चाबहिल र माइतीघरमा पुल बनाउन साढे दुई करोड लागेको छ । 

चाबहिल, माइतीघरमा राखिने पुलको मोडल अन्य आठ ठाउँमा राखिनेभन्दा फरक भएको थापाले बताए । ‘यी दुई ठाउँमा बनेको आकासे पुल गोलो आकारको छ, तीन–चार ठाउँबाट आउन र जान मिल्ने । अरू ठाउँमा भने दुईतर्फी मात्र बनाउँछौँ,’ उनले भने । थापाका अनुसार यी आकासे पुलको तल्लो भाग मात्र कंक्रिटको छ । कंक्रिटको जगमा अड्याएर माथिल्लो भागमा फलामको पुल बनेको छ । पुलका आवश्यक फलामका फ्रेमलाई नटबोल्ट कसेर पुल बनाइएको छ । यहीकारण पुललाई चाहेअनुसार खोलेर अन्त सार्न सहज हुन्छ ।

‘कहिलेकाहीँ विभिन्न कारणले बनिसकेको ठूलो पुल यसै भत्काउनुपर्ने अवस्था आउन सक्छ । बाटो विस्तार हुँदै छ । सहर बन्दै छ । यस्तोमा कुनै ठाउँको पुलको अवस्थिति नमिलेर भत्काउन पर्ने हुन सक्छ,’ थापाले भने । उनका अनुसार यस्ता पुल सार्न पनि धेरै खर्च हुँदैन । पछि टेन्डरमा पनि एक ठाउँबाट अर्को ठाउँसम्म लैजाने लागत मात्र भए पुग्छ । यसले गर्दा दोहोरो खर्च कम हुने उनको भनाइ छ । ‘यसको अर्को राम्रो पक्ष सुन्दर देखिनु हो । कंक्रिटको पुल ठूलो र भद्दा हुन सक्छ । धेरै ठाउँ ओगट्छ,’ उनले भने, ‘बसपार्कमा भएको पुल हेर्नु त कति छरितो छ ।’ 


 

ad
ad