Skip This
नेपालगन्ज र कोहलपुरमा बन्ने आकासे पुल अनिश्चित : १५ महिनामा सक्ने सम्झौता तर १३ महिना बित्दासमेत अन्योल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार ११:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालगन्ज र कोहलपुरमा बन्ने आकासे पुल अनिश्चित : १५ महिनामा सक्ने सम्झौता तर १३ महिना बित्दासमेत अन्योल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:२o:oo

नेपालगन्ज र कोहलपुरमा निर्माण गर्ने भनिएका आकासे पुलको अवस्था अनिश्चित बनेको छ । सम्झौता भएको १३ महिना बिते पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन रिभ्यु स्वीकृत नगर्दा आकासे पुल निर्माण अनिश्चित बनेको हो । ती पुलको पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले गत मंसिरमा शिलान्यास गरेका थिए । 

डिजाइन रिभ्युका लागि पुल महाशाखामा पठाएको लामो समय भए पनि अहिलेसम्म स्वीकृत नभएको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर नीरज शाक्यले बताए । ‘डिजाइन रिभ्युका लागि पठाएको फाइल लामो समयदेखि पुल महाशाखामा थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन,’ उनले भने, ‘आकासे पुल निर्माणका लागि २८ कात्तिक, ०७९ मा चितवनको भरतपुरस्थित डायनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । सम्झौता भएको १५ महिनामा काम सक्ने सहमति भएको छ, तर १३ महिना बितिसक्यो, अहिलेसम्म काम अगाडि बढेको छैन ।’ 

सम्झौताअनुसार नेपालगन्जको गणेशमान चोक, बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोक तथा कोहलपुरको एक ठाउँमा आकासे पुल निर्माण गर्ने भनिएको छ । तर, निर्माणको काम अगाडि नबढ्दै विवाद सिर्जना भएको छ । कोहलपुरमा निर्माण गर्ने भनिएका ठाउँका घरधनीले पहिले नै निवेदन दिइसकेको शाक्यको भनाइ छ । ‘राँझा चोकमा निर्माणको काम अगाडि बढाएका थियौँ । जग खन्ने वेला विद्युत् प्राधिकरणले जमिनमुनि बिछ्याएको तार भेटियो । एक्साभेटरचालकलाई झन्डैले करेन्ट लागेन । त्यसपछि निर्माणको काम रोक्यौँ,’ उनले भने, ‘सडक विभागको क्षेत्रभित्र पर्ने जमिनमा विद्युत् प्राधिकरणले सूचना नदिएर कसरी विद्युत्को तार अन्डरग्राउन्ड ग¥यो ? कसले दिएको हो उसलाई अधिकार ?’ 

पुल निर्माणका लागि डायनामिक कन्स्ट्रक्सनसँग आठ करोड ३३ लाख रुपैयाँमा सम्झौता भएको डिभिजन प्रमुख शाक्यले बताए । उनले निर्माण कम्पनीसँग सम्झौता भए पनि अहिले बजेट नभएको बताए । ‘एक त डिजाइन रिभ्यु भएको छैन । अर्कोतर्फ निर्माण गर्ने भनिएको आकासे पुल निर्माण शीर्षकमा बजेट नै छैन,’ उनले भने, ‘डिजाइन रिभ्यु स्वीकृत नहुँदै पुल बन्छ भन्न सकिने अवस्था छैन ।’ पूर्वभौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईको जोडबलमा नेपालगन्जमा चार र कोहलपुरमा एक गरी पाँचवटा आकासे पुल निर्माण गर्ने योजना परेको थियो । तर, राई मन्त्रीबाट बाहिएलगत्तै यो योजना अनिश्चित भएको छ । ‘इस्तियाक राईज्यू मन्त्री भएका वेला सम्झौता गर्नेहरू अहिले कार्यान्वयन गर्न नसक्ने भन्दै पन्छिँदै छन् । सम्झौता कार्यान्वयन नहुँदा म समस्यामा परेको छु,’ डिभिजन प्रमुख शाक्यले भने । 

बाँकेबाट विजयी सांसदले चासो नदिँदा आकासे पुल निर्माणले गति लिन नसकेको पूर्वमन्त्री राईले बताए । उनले यस विषयमा आफूले विभागीय मन्त्री, मन्त्रालयका उच्च पदाधिकारी र पुल महाशाखाका कर्मचारीलाई ताकेता गरिरहेको बताए । ‘सम्झौताअनुसारको काम छिटो अगाडि बढाउन बारम्बार ताकेता र दबाब दिइरहेको छु । डिजाइन रिभ्यु छिट्टै स्वीकृत गरेर काम अगाडि बढाउने आश्वासन पाएको छु,’ उनले भने । 

तर, डायनामिक कन्स्ट्रक्सन प्रालिका प्रमुख युवराज क्षेत्रीले डिजाइन रिभ्युका कारण नभई सडक डिभिजन कार्यालय नेपालगन्ज र सडक विभागको लापरबाहीले आकासे पुल निर्माण अगाडि बढ्न नसकेको बताए । 

ad
ad