१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
ऋषिकेश पाई/उपेन्द्र एस किन्जावाडेकर
२०८० फाल्गुण २४ बिहीबार ०९:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एक खोपबाट ६ क्यान्सरको रोकथाम 

Read Time : > 2 मिनेट
ऋषिकेश पाई/उपेन्द्र एस किन्जावाडेकर
२०८० फाल्गुण २४ बिहीबार ०९:४५:००

पाठेघरको क्यान्सरले प्रत्येक वर्ष विश्वभर तीन लाखभन्दा बढी अर्थात् प्रत्येक दुई मिनेटमा एक महिलाको ज्यान जान्छ

जनवरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना महिनाका रूपमा मनाइयो । यसबाहेक प्रत्येक वर्ष ४ मार्चलाई अन्तर्राष्ट्रिय एचपिभी (ह्युमन पेपिलोमा भाइरस) जागरुकता दिवसका रूपमा मनाइन्छ । एचपिभी खोपले महिलाको स्वास्थ्यलाई गम्भीर रूपमा असर गर्ने पाठेघरको मुखको क्यान्सरलाई रोक्न सक्छ । पाठेघरको क्यान्सरले प्रत्येक वर्ष विश्वभर तीन लाखभन्दा बढी महिलाको ज्यान लिन्छ, अर्थात् प्रत्येक दुई मिनेटमा एक महिलाको ज्यान जान्छ । पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने १० मध्ये नौ महिला निम्न र मध्यम आय भएका देशका हुने गर्छन् । 

भारतमा पाठेघरको क्यान्सर स्तन क्यान्सरपछि दोस्रो सबैभन्दा बढी देखिन्छ । देशको जनसंख्याको आकारलाई हेर्दा १५ वर्षभन्दा माथिका करिब ५० करोड महिला पाठेघरको मुखको क्यान्सरको जोखिममा छन् । पहलकदमी लिइएन भने पाठेघरको क्यान्सरबाट हुने मृत्युको संख्या भविष्यमा उल्लेखनीय रूपमा बढ्छ । हालको जनसंख्या वृद्धिदरलाई लिने हो भने सन् २०४० को वर्षमा भारतमा पाठेघरका क्यान्सरपीडितको संख्या एक लाख ९१ हजार तीन सय ४७ पुग्ने अनुमान गरिएको छ, जुन सन् २०२० को तुलनामा ५४ प्रतिशतले बढी हुनेछ । 

रोकथामका रणनीति : सन् १९८३ मा जर्मन वैज्ञानिक हेराल्ड जुर हौसेनले महिलामा पाठेघरको मुखको क्यान्सर निश्चित प्रकारका प्यापिलोमा भाइरसले गर्दा हुने गरेको देखाएका थिए । एचपिभी महामारी विज्ञान र क्यान्सरको निदानमा यसको भूमिकाको ज्ञानले रोकथाम र प्रारम्भिक पहिचानका लागि दुई प्रमुख रणनीति विकास गरेको छ, अर्थात् एचपिभी खोप र पूर्वक्यान्सर घाउको जाँच पर्छन् । पाठेघरको मुखको क्यान्सर उन्मूलन एक वास्तविक सम्भावना भए तापनि आज न्यून स्रोत भएका समुदायमा पाठेघरको मुखको क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उन्मूलन गर्ने प्रभावकारी हस्तक्षेपको अभाव देखिन्छ । विश्व स्वास्थ्य संगठनको रणनीतिले उच्च गुणस्तरीय स्वास्थ्य सेवा र समतामूलक स्वास्थ्य सेवामा थप ध्यान केन्द्रित गर्दै सन् २०३० सम्ममा कार्यान्वयन गरिने ९०–७०–९० तीन खम्बे हस्तक्षेपको रूपरेखा प्रस्तुत गरेको छ । हस्तक्षेपको लक्ष्यअनुरूप ९० प्रतिशत बालिकालाई १५ वर्षको उमेरसम्ममा एचपिभी खोप लगाइनुपर्छ, ७० प्रतिशत महिलालाई ३५ र फेरि ४५ वर्षको उमेरमा उच्चस्तरको स्क्रिनिङ गरिनुपर्छ । र, पाठेघरको मुखको पूर्वक्यान्सर एवं क्यान्सरको घाउ भएको पत्ता लागेका ९० प्रतिशत महिलाले उपचार र हेरचाह पाउनुपर्छ ।

‘एक्सेलेरेटिङ ग्लोबल हेल्थ पाथवेजः टु हेल्थ इक्विटी फर द जी २०’ शीर्षकको हालैको प्रतिवेदनले विशेषतः न्यून एवं मध्यम आय भएका देशका लागि खोपमा समान पहुँच प्रवर्द्धन गर्ने भारतको जी २० अध्यक्षताको प्रतिबद्धतालाई जोड दिएको छ । एचपिभी खोप भारतमा सन् २००८ मा ल्याइएको थियो । पर्याप्त देशव्यापी अध्ययन र सफल राज्य–स्तर प्रयोगपछि यसलाई सन् २०२३ मा विश्वव्यापी खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो । यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सन् २०२३ को सुरुमा र हालै अर्थमन्त्रीले आफ्नो अन्तरिम बजेट भाषणमा प्रारम्भिक घोषणा गरेकी थिइन् । 

अनुसन्धानले एचपिभी खोप भारतका सबै बालिकामा व्यापक रूपमा पहुँचयोग्य नभएको देखाएको छ । हाल, यो निजी बजारमा महँगो लागतमा उपलब्ध छ । थुप्रै चिकित्सकले पाठेघरको मुखको क्यान्सर र एचपिभी संक्रमणको मामिला र जोखिमलाई कम आकलन गर्छन् । खोप सुरक्षा र प्रभावकारितामा हुने विश्वासको कमीले उमेरयोग्य किशोरीका अभिभावक एचपिभी खोपका लागि हिचकिचाउँछन् । चिकित्सक पनि यसको सिफारिस गर्न पनि हिचकिचाउन सक्छन्, किनभने एचपिभी संक्रमण मुख्यतया अन्तरंग छालाको सम्पर्कमार्फत हुन्छ । एचपिभी खोपबारे आएका हल्ला र गलत जानकारीबारे अभिभावकका प्रश्नको जवाफ दिन चिकित्सकले समयको दुरुपयोग ठान्न सक्छन् ।

तथ्य र उत्तम अभ्यास : कुल ८० हजार सदस्य रहेका फेडरेसन अफ ओब्स्टेट्रिक एन्ड गाइनोकोलोजिकल सोसाइटिज अफ इन्डिया (फोग्सी) र भारतीय बाल चिकित्सा प्रतिष्ठान (आइएप) एचपिभी खोपको राष्ट्रिय अभियानका लागि एक ठाउँमा आएका छन् । यी दुई संस्थाले सदस्य स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञलाई एचपिभी खोपबारे सम्झाउने र यस खोपबारे अभिभावकसँग प्रभावकारी संवाद गर्न उत्कृष्ट अभ्यास साझा गर्ने लक्ष्य राखेका छन् । यो सुरक्षित र प्रभावकारी खोपले ६ वटा एचपिभी क्यान्सरलाई रोक्न मद्दत गर्न सक्छ । यीमध्ये पाँच क्यान्सर महिलामा हुन्छन् । नौ वर्षको उमेरदेखि सुरु हुने सबै किशोरीलाई एचपिभी खोप सिफारिस गर्नु आइएपी खोप तालिकाको कार्यभार हो । हालै फोग्सीले असल चिकत्सकीय अभ्यास सिफारिसले प्रमाणसहित ९ देखि १४ वर्षका प्राथमिक उमेर समूहलाई एचपिभी खोप सिफारिस गरेको छ । त्यसैगरी ३० वर्षभन्दा माथिका प्रत्येक महिलाका लागि नियमित जाँचको सिफारिस गरेको छ । जनताको स्वास्थ्य र समृद्धिलाई प्रवर्द्धन गर्ने शीर्ष राष्ट्रिय चिकित्सा संस्था फोग्सी र आइएपीले एचपिभी खोपमार्फत प्रत्येक बालिकालाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राखेको सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यसबाहेक यी संस्थाले प्रत्येक महिलालाई नियमित जाँचद्वारा सुरक्षित गरिएको सुनिश्चित गर्ने लक्ष्य पनि राखेका छ । यसका लागि यी संस्थाले सन् २०२४ को मध्यमा कम्तीमा २० हजार एचपिभी चिकित्सक तयार गर्दै छन् । चिकित्सक समाजमा सबैभन्दा सम्मानित अगुवा हुन् र स्वास्थ्यसम्बन्धी जानकारीका लागि विश्वसनीय स्रोत पनि हुन् । भारतमा पाठेघरको मुखको क्यान्सर हटाउन यी चिकित्सकको नेतृत्व आवश्यक छ ।

(पाई फोग्सी २०२३ का र किन्जावाडेकर आइएप २०२३ का अध्यक्ष हुन्) 
द हिन्दूबाट