१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण १७ बिहीबार ०७:३४:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण १७ बिहीबार ०७:३४:००

सार्वजनिक सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरीको कस्तो भूमिका हुन्छ ?
यसमा प्रहरीको सशक्त भूमिका हुन्छ । प्रहरीलाई साधनस्रोत, प्रविधि, दक्ष जनशक्ति आदि उपलब्ध गराएर बलियो बनाउनुपर्छ । यस्तो प्रहरीले मात्र सार्वजनिक सुरक्षालाई बलियो बनाउन सक्छ । 

सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रहरी किन चुक्दै छ ?
पछिल्लो समयमा संसद् भवनमा प्रदर्शनकारीहरू पसेको घटनापछि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको देखिन्छ । यसमा प्रहरीको सूचनामा ग्याप देखियो । खासगरी प्रदर्शनकारीहरू कसरी र कसको सिफारिसमा पास लिएर भित्र प्रवेश गरिरहेका छन् भन्ने विषयमा सूचना पाउन नसक्नु कमजोरी देखियो । सरकारले जथाभावी जताततै निषेधित क्षेत्र घोषित गरिदिएको छ । त्यसले गर्दा धेरैतिर प्रदर्शन हुन सक्ने भएकाले प्रहरी जनशक्ति र उसको साधनस्रोत बाँडिँदा पनि सुरक्षा व्यवस्थापनमा समस्या देखिएको हुन सक्छ । यसका लागि निषेधित क्षेत्र खुला गरिदिनुपर्छ । पहिले माइतीघर मण्डलमा आन्दोलन गर्न पाउँदा त्यहाँ कैयौँ समूहले आआफ्नो तरिकाबाट प्रदर्शन गर्थे । प्रहरीले आफ्नो अधिकतम जनशक्ति त्यहाँ परिचालन गर्न सक्थ्यो ।

प्रहरीलाई बलियो बनाउन के गर्नुपर्ला ?
सबैभन्दा पहिले प्रहरीलाई ऐन, नियममार्फत बलियो बनाउनुपर्छ । प्रहरीभित्र बाहिरकाले खेल्न पाउनु हुँदैन । पुलिसिङ हेडक्वार्टरले गर्न पाउनुपर्छ, गृह प्रशासनले होइन । प्रहरीलाई साधनस्रोतबाट सम्पन्न बनाउनुपर्छ । प्रविधिमा लगानी बढाउनुपर्छ । सिसी क्यामेरालगायत उपकरणको प्रयोग बढाउनुपर्छ । प्रहरीलाई कम क्षति पुर्‍याउने सफ्ट हतियार या साधनस्रोत उपलब्ध गराउनुपर्छ । प्रहरीलाई सकभर घातक हतियारबाट टाढै राख्नुपर्छ । रबरको गोली, अश्रुग्यास, सामान्य लट्ठी, पानीको फोहोराजस्ता साधनस्रोतबाट प्रहरीलाई सम्पन्न गराउनुपर्छ ।