सम्पदा पुनर्निर्माणमा किन ढिलाइ भइरहेको छ ?
सम्पदा पुनर्निर्माणमा ढिलाइ भइरहेको छैन, बरु छिटोचाहिँ भइरहेको छ । ०७२ को विनाशकारी भूकम्पका कारण हाम्रा ९२० सम्पदा क्षतिग्रस्त भएका थिए । नौ वर्षमा झन्डै सात सय ७० भन्दा बढी सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यो सानो उपलब्धि होइन । अहिले नै पनि कतिपय सम्पदा निर्माणाधीन अवस्थामै छन् । त्यसैले, सम्पदा पुनर्निर्माण सुस्त होइन, द्रुत गतिमै अघि बढिरहेको छ । एउटा सामान्य घर निर्माण गर्न त एक–दुई वर्ष लाग्छ भने सम्पदा पुनर्निर्माण गर्दा धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने र सानो गल्ती भएमा समाजदेखि सबैतिरबाट त्यसलाई नस्विकारिने भएकाले यसमा समय लाग्नु स्वाभाविक हो ।
सम्पदा पुनर्निर्माणका क्रममा के–कस्ता चुनौती देखिए ?
सम्पदा पुनर्निर्माणको काम आफैँमा निकै चुनौतीपूर्ण नै हुन्छ । यसको व्यवस्थापनदेखि ‘डकुमेन्टेसन’का काममा सूक्ष्म ध्यान पुर्याउनुपर्छ । धार्मिक, सांस्कृतिक पक्षमा ध्यान दिनुपर्छ । यसमा प्रयोग भएका कला, वास्तुकला दुरुस्त हुनुपर्छ । गुणस्तरीय काठ प्राप्त गर्न र सम्पदाका झ्याल, ढोका, स्तम्भ, टुँडाल आदिमा प्रयोग भएका बुट्टा, मूर्ति आदि तयार गर्न पनि लामै समय लाग्छ । गारोमा प्रयोग हुने इँटा तयार गर्न पनि समय लाग्छ ।
अब कहिलेसम्ममा सम्पदा पुनर्निर्माणले पूर्णता पाइसक्ला ?
क्षतिग्रस्त नौ सय २० मध्ये सात सय ७० भन्दा बढीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । बाँकीमध्ये पनि कतिपयको काम अन्तिम चरणमा पुगेको छ । त्यसैले, अबका दुई–तीन वर्षभित्र यसले पूर्णता पाइसक्छ । क्षतिग्रस्त दुई सय १५ गुम्बाको काम सक्न भने अलि बढी समय लाग्न सक्छ ।