१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण १३ आइतबार ०९:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘बैंंकहरूसँग करिब १८ खर्ब तरलता छ, प्रणालीमा समस्या छैन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण १३ आइतबार ०९:२७:००

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले मुलुकको बैंक तथा वित्तीय क्षेत्र खतरामुक्त रहेको बताएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रबारे विभिन्न समूहले स्वार्थप्रेरित भ्रम फैलाउन थालेको भन्दै उनले यस्तो बताएका हुन् । बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत जोडेर १७–१८ खर्ब तरल सम्पत्ति रहेकाले   कुनै पनि बैंकमा समस्या नरहेको अध्यक्ष केसीले प्रस्ट पारेका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काभ्रेको बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले बैंकहरूसँग पर्याप्त तरलता रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि सजिलै व्यवस्थापन गर्न सकिने अवस्थामा रहेको बताएका हुन् । ‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन् । सिआरआर र एसएलआरमा समेत गरेर कुल १७–१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको भन्दै केही व्यक्तिको भ्रामक अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन,’ उनले भने ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ क्षेत्र संवेदनशील रहेकाले कसैले पनि स्वार्थप्रेरित भई प्रणालीमाथि प्रहार गर्न नहुने बताए । ‘अर्थतन्त्रका चारवटा क्षेत्रमध्ये बैंकिङ क्षेत्र एक हो । त्यसकारण बैंकिङ क्षेत्रमा समस्या आए त्यसले सम्रग अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन सक्नेतर्फ सबैजना सजग हुनुपर्छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले केही व्यक्ति र समूहले गरेको प्रहार निन्दनीय भएको बताए । ‘बैंकिङ क्षेत्र पारदर्शी छ । पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्यायोचित हुँदैन,’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ । वेला–वेलामा भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्या आएका वेला पनि केन्द्रीय बैंकले विभिन्न सहजीकरण गरेर बैंकिङ क्षेत्र सबल अवस्थामै रहेको छ ।’