
अहिले लघुवित्तमा किन संकट देखियो ?
विगतमा जथाभावी कर्जा लगानी गरियो । आयमूलक या उत्पादनमूलक काममा खासै लगानी भएन । बजारमा पनि शिथिलता देखियो । जसले गर्दा उत्पादन बिक्री भएन । दसैँ, तिहारजस्ता चाडपर्वमै पनि अपेक्षित रूपमा खसीबोका र अन्य नगदे बालीसमेत बिक्न सकेनन् । त्यसले गर्दा पनि कर्जा असुलीमा समस्या आयो । फेरि, यो समस्यालाई सामाधानको बाटामा लानेतिर भन्दा ऋणीलाई उचालेर फाइदा लिन खोजियो । समस्यालाई राजनीतिकरण गरियो । आन्दोलन हुन थालेपछि त्यसैका बलमा ब्याज मिनाहा भइहाल्छ कि भनेर पनि कतिले सावाँब्याज नतिरी ‘होल्ड’ गरेको अवस्था पनि छ । यसले गर्दा पनि संकट बढेको हो ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनका सुझाव कार्यान्वयनको अवस्था के छ ?
कतिपय सुझाव कार्यान्वनमा गइसकेका छन् । सुझावअनुसार कर्जा ‘रिसेड्युल’ या ‘रिस्ट्रक्चरिङ’ गर्ने कार्य अघि बढिसकेको छ । ग्राहक संरक्षण कोषको प्रयोग बढेको छ । सचेतना कार्यक्रमहरू सञ्चालन गरिएका छन् । किसान या ऋणीलाई आवश्यक उपकरण, सामग्रीहरू उपलब्ध गराउने काम पनि भइरहेका छन् । व्यवसाय पुनस्र्थापनामा सघाइँदै छ ।
समस्या समाधानको बाटो के हो त ?
यसका लागि सबैभन्दा पहिले किसान या ऋणीलाई आयमूलक या उत्पादनमूलक काममा लगानी गर्न प्रोत्साहित गर्नुपर्छ । ऋणीलाई उचालेर आन्दोलनमा उतार्नेहरूको पहिचान गरी तिनलाई नियन्त्रणमा लिनुपर्छ । समस्याको समाधान आन्दोलनबाट होइन सम्बन्धित कार्यालयबाटै खोजिनुपर्छ ।