१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०८० फाल्गुण ९ बुधबार १७:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

झिर्पुमा चिनियाँ भाषा कक्षा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०८० फाल्गुण ९ बुधबार १७:१४:००

राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको उत्तरी नाका तातोपानी सन् १९६० देखि व्यापार र आवतजावतका लागि सञ्चालनमा छ। नेपाल–चीन सीमा क्षेत्र भोटेकोसीमा चिनियाँहरू दिनहुँ आवतजावत गर्छन्।

तर, भाषाको समस्याले कतिपय महत्त्वपूर्ण काम अधुरै रहन्छन्। व्यापार होस् वा दैनिक सम्पर्कका लागि सीमावासीले चिनियाँ भाषा जान्नैपर्ने भएको छ। यही समस्यालाई मध्यनजर गरेर भोटेकोशी गाउँपालिकाको केन्द्रमा अवस्थित झिर्पु माध्यमिक विद्यालयले चिनियाँ भाषा कक्षा सञ्चालन गरेको छ।

वैशाखबाट सुरु गरिएको कक्षा अहिले विस्तार भएर नियमित बनेको छ। झिर्पु माविका कक्षा ७ देखि १२ सम्मका विद्यार्थीले चिनियाँ भाषा सिक्छन्।

सोबरस् एक्सन नेपाल र सोबरस् एक्सन हङकङको संयुक्त सहयोगमा झिर्पु माविलाई चिनियाँ भाषा अध्ययन र दिवाखाजाको प्रबन्ध गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष आङ्छिरी शेर्पाले जानकारी दिए। सोबरस् एक्सन संस्थाको एक वर्षीय सहयोग हो। हालसम्म चीन सरकारको सहयोग छैन,’ उनले भने।

चीनको हाइनान् नर्मल युनिभर्सिटीबाट अध्ययन सकेर आएकी स्थानीय शिक्षिका रीना श्रेष्ठले चिनियाँ भाषा कक्षा चलाउँछिन्। श्रेष्ठले दैनिक सात पिरियड भाषा कक्षा पढाउने गर्छिन्। ‘७ देखि १० सम्म नियमित कक्षा र प्लस–टूका विद्यार्थीले ऐच्छिक रूपमा चिनियाँ भाषा सिक्छन्,’ शिक्षिका श्रेष्ठले भनिन्। विद्यालयको आर्थिक स्रोत कमजोर भएकोले भाषा पढाउने अरू शिक्षक नभएको उनले सुनाइन्।  

अध्यक्ष शेर्पाका अनुसार हाल दुई सय ३६ बालबालिकाले चिनियाँ भाषाको कक्षा लिइरहेका छन्। बालबालिकालाई चीन सरकारले प्रकाशन गरेको स्ट्यान्डर्ड कोर्स एचएसके–१ किताब वितरण गरिएको छ। १० महिनाको अवधिमा झिर्पुका विद्यार्थीले आधारभूत चिनियाँ भाषाको सिकाइ उपलब्धि हासिल गरेका छन्। 

यद्यपि, चिनियाँ भाषा कक्षाको स्थायित्व र विकासका लागि अध्यक्ष शेर्पा नेपालस्थित चिनियाँ राजदूतावासदेखि चीनको विभिन्न विश्वविद्यालयमा पुगे पनि हालसम्म सहयोग पाएनन्। सोबरस् एक्सनले एक वर्षको लागि भाषा कक्षा र दिवाखाजा सम्झौता गरेको हो। 

‘अब म्याद सकिन लाग्यो। आगामी दिनमा कक्षा कसरी निरन्तर बनाउने भन्ने चिन्ता छ,’ उनले भने, ‘भोटेकोशी दुर्गम भएकोले चिनियाँहरू आउन मानेनन्।’ चिनियाँ भाषाको कक्षा काठमाडौंकेन्द्रित गर्ने चिनियाँ रणनीति रहेको उनले सुनाए।

सीमा क्षेत्रको विद्यालय भएकोले तिब्बत सरकारको विदेश विभागले एक करोडबराबरको फर्निचर, चिनियाँ पुस्तक र खेलकुद सामग्री दिएको छ। चिनियाँ भाषा सहजै प्राप्त नहुने भएकोले भोटेकोशी क्षेत्रमा १२ कक्षापछि अमेरिका र युरोप जाने बढेका छन्। सीमावर्ती क्षेत्रका अरू विद्यालयले पनि चिनियाँ भाषा पढाउन दूतावासमार्फत चीन सरकारलाई अनुरोध गरे तापनि हालसम्म कुनै पनि विद्यालयमा चिनियाँ शिक्षक आएका छैनन्।

दुर्गम ठाउँ भएकोले चिनियाँ शिक्षक आउन नमानेको राजदूतावासले जवाफ दिएको छ। भूकम्पअघि बाह्रबिसे, लामोसाँघु, खाँडीचौर र कोदारीमा चिनियाँ भाषका कक्षा थिए। जहाँ चिनियाँ शिक्षकद्वारा पढाइन्थ्यो।