१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालगन्जमा ८ कक्षाको परीक्षाफल प्रकाशनमा विवाद

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु सरासर गलत : उपमेयर राई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२८:oo

नेपालगन्ज उपमहानगरपालिकाले प्रकाशन गरेको कक्षा ८ को वार्षिक परीक्षाको नतिजाका विषयमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद सिर्जना भएको छ। 

नगरस्तरीय शिक्षा समितिले आफ्नो लाज ढाक्न उत्तीर्ण प्रतिशत बढाएर नतिजा प्रकाशन गर्न सिफारिस गरेको समितिका सदस्यसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईले आरोप लगाए।

शिक्षा समिति र महाशाखाले गरिब विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको बताए। शिक्षा समितिको सिफारिसमा महाशाखाले ३० चैत २०८० मा सामुदायिक विद्यालयतर्फ ३९ प्रतिशत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नतिजा प्रकाशन गरेको थियो। 

तर, उपमेयर राई त्यसमा सहमत छैनन्। उनले सामुदायिक विद्यालयतर्फ ८ कक्षामा १९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको दाबी गर्छन्। ‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन्। उत्तीर्ण नभएका विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिबका छोराछोरीको भविष्यमाथि खेलबाड गर्नु हो,’ उपमेयर राईले भने। 

उनले विद्यालय, शिक्षा महाशाखा र शिक्षा समितिले लाज ढाक्न उत्तीर्ण प्रतिशत बढाएको बताए। ‘जुन–जुन विद्यार्थी उत्तीर्ण भएका छन्, उनीहरूलाई मात्र उत्तीर्ण गर्नुपर्‍यो। आफ्नो लाज ढाक्न अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्न भएन नि,’ उनले भने, ‘शिक्षा महाशाखाले प्रकाशन गरेको नतिजा सरासर गलत छ। यो सच्याउनुपर्छ।’

उनले नतिजा नसच्याए त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिएका छन्। उनले शिक्षा महाशाखाका प्रमुखले राजीनामा दिनुपर्ने बताए। ‘शिक्षा शाखामा आवश्यकताभन्दा धेरै कर्मचारी भए पनि नतिजा राम्रो नआउनुले शिक्षा महाशाखाको गम्भीर त्रुटि छ। नैतिकताको हिसाबले उहाँले राजीनामा दिनुपर्छ,’ उपमेयर राईले भने, ‘गत वर्ष पनि यस्तै त्रुटि भएको थियो। सामुदायिक विद्यालयतर्फ २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा बढाएर ७० प्रतिशत पुर्‍याइएको थियो। हरेक वर्ष गरिब विद्यार्थीको शिक्षामाथि खेलबाड हुँदै आएको छ।’

शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा उपमेयर राईको भनाइमा सहमत छैनन्। उनले शिक्षा समितिको सिफारिसअनुसार परीक्षाफल प्रकाशन गरिएको बताए। शिक्षा समितिले गरेको निर्णयअनुसार परीक्षाफल प्रकाशन गरिएको हो। 

'यसमा शिक्षा महाशाखाको कुनै दोष छैन,’ उनले भने, ‘१९ प्रतिशतलाई ३९ प्रतिशत पुर्‍याएको भनाइमा कुनै सत्यता छैन। नतिजा प्रकाशनमा शिक्षा महाशाखाको कुनै हात छैन। हामीले समितिको निर्णयलाई कार्यान्वयन मात्र गरेका हौँ।’

उनका अनुसार सामुदायिक विद्यालयतर्फ ३९ र संस्थागत विद्यालयतर्फ ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए। नेपालगन्जमा ८ कक्षामा कुल ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए। ‘शिक्षा महाशाखाको समन्वय गर्ने भूमिकाबाहेक केही हुँदैन,’ उनले भने, ‘कर्मचारीलाई दोष लगाउनु राम्रो होइन।’

नगर शिक्षा समितिको सिफारिसमा महाशाखाले प्रकाशन गरेको नतिजामा उत्तीर्ण भएका कतिपय विद्यार्थी कक्षा ९ मा भर्ना भइसकेका छन्। 

  

ad
ad