
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ
कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे ।
उनका अनुसार यस वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थी सहभागी हुने भएका छन् ।
त्यस्तै, ग्रेडवृद्धितर्फ एक लाख ६ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।
परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक–एकवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । पहिलोपटक बोर्डले यस वर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको छ। यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरिएको छ ।