१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १ मंगलबार ०८:१०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १ मंगलबार ०८:१०:००

काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । अनुगमनस्वरूप उपमेयर एवं अनुगमन समितिकी संयोजक सुनीता डंगोलको नेतृत्वमा प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालबाट संक्रमित फोहोर व्यवस्थापनको अनुगमन सुरु भएको हो । ‘सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहोर उत्पादकहरूले दायित्वबोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ,’ अनुगमनपछि प्रतिक्रिया दिँदै डंगोलले भनिन्, ‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ । क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ ।’

अनुगमनका क्रममा अस्पतालको नर्सिङ विभाग प्रमुख राधिका घिमिरेले संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादित फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाएकी थिइन् । काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ मा हानिकारक फोहोर व्यवस्थापनसम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ । यो व्यवस्थामा उल्लेख भएका दायित्वसम्बन्धी काम अनुगमनका सूचक हुन् ।

घिमिरेका अनुसार अस्पतालले तीन लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गरिरहेको छ । स्रोतमा फोहोर छुट्याउन नर्सिङ बेस्ड सिस्टम कार्यान्वयनमा छ । फोहोर उत्पादन हुने ठाउँको ड्युटीमा रहने नर्सिङ स्टाफले यसको जिम्मेवारी लिने गरेका छन् । एक सय बेडको अस्पतालमा सामान्य फोहोर उत्पादन हुने ठाउँमा चार प्रकारका बाल्टिन राखिएका छन् । प्लास्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने वस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ ।