१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कम्पनी दर्ता गरेर कर तिर्ने घरजग्गा व्यवसायीको प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o२:oo

घरजग्गा कारोबार गर्दा कम्पनी दर्ता गरी कर कानुनको पालना गर्ने नेपाल जग्गा तथा आवास विकास महासंघले घोषणा गरेको छ । पोखरामा सम्पन्न महासंघको महासभाले १९ बुँदे   घोषणापत्र जारी गर्दै यस्तो प्रतिबद्धता जनाएको हो । ३३ जिल्ला संघसहित ५० जिल्लाका तीन सय ५० भन्दा बढी घरजग्गा व्यवसायीको उपस्थिति रहेको सम्मेलनले रियल इस्टेटलाई उद्योगका रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजारसम्बन्धी कानुन निर्माण गर्न पहल गर्ने, जग्गाको हदबन्दी हटाउन पहल गर्ने, अपार्टमेन्ट बिक्रीका लागि कानुनी व्यवस्था गर्न आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

यसैगरी, वातावरणमैत्री सहरी विकास गर्ने, नयाँ सहर विकास गर्ने, व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्न पहल गर्ने, बहुतले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने महासंघको घोषणा छ । महासभाले वैशाखमा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिए । यस्तै, उनले स्टक मार्केटजस्तै रियल इस्टेट मार्केटको पनि व्यवस्था गर्नुपर्ने बताए । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रको सहकार्यमा आवास परियोजना अघि बढाउनुपर्ने बताए । ‘कपितय कानुनले गर्दा घरजग्गामा मात्रै होइन, अन्य विषयमा पनि केन्द्र सरकारसँग संघर्ष गर्नुपरेको छ । 

अहिले तपाईंहरूले गण्डकी प्रदेशमा बसेर कुनै व्यवसाय गर्छु भन्दा कम्पनी दर्ता गर्न काठमाडौंको त्रिपुरेश्वर नै जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘यद्यपि, व्यवस्थित बस्ती विकास गर्न हामी सकारात्मक छौँ । यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक पनि छ । साथै, हामी स्थानीय तहसँगको सहकार्यमा आवश्यक कानुन बनाउने प्रक्रियामा पनि छौँ ।’ 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई व्यवस्थित सहर बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । ‘हामी पोखरालाई पर्यटन राजधानी बनाउने कसरतमा छौँ । त्यसका लागि विभिन्न मापदण्ड हुन्छन्, त्यसमा व्यवस्थित सहरीकरण पनि मुख्य पाटो हो,’ उनले भने, ‘तसर्थ, हामी पोखरालाई व्यवस्थित सहर बनाउन सकारात्मक छौँ । यसका लागि निजी क्षेत्रसँग पनि सहकार्य गर्छाैँ ।’ पूर्वाधारविज्ञ किशोर थापाले व्यक्तिगत आवासभन्दा पनि हाउजिङ, अपार्टमेन्ट निर्माणमा जोड दिनुपर्ने बताए ।

ad
ad