१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o९:oo

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन्।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन्। सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, ५ एमभिएका पावर ट्रान्सफर्मरहरू राखिएका छन्। ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरू जडान अन्तिम चरणमा छ। नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन्।

उपकरणहरूको जडान धमाधम भइरहेको छ। २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ। बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ।

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारणलाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। आयोजनाले आफ्नो विद्युतगृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारणलाइनको टावरहरू निर्माण गरिसकेको छ। प्रसारणलाइनको करिब २ किलोमिटर तार तानिएको छ।

आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण दुई किलोमिटर तार तान्न सकिरहेको छैन। हाल मध्यभोटेकोशी जलविद्युत् आयोजनाका संरचनाहरूको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन्।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारणलाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो। साथै, टोलीले मध्यभोटेकोशी जलविद्युत् आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरूको जानकारी लिएको थियो।

कार्यकारी निर्देशक घिसिङले उपकरणहरू सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए। 

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड– १९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ।

ad
ad