१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १९ शुक्रबार ०९:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : उपाधिका लागि पुलिस र आर्मीबीच भिडन्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १९ शुक्रबार ०९:२५:००

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पुलिसले लगातार नौ खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । पुलिस दुई खेलअघि नै अन्तिम दुईमा पुगेको थियो ।

आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गर्‍यो । पुलिस अपराजित रही सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो । पहिलोपटक राउन्ड रोबिन पद्धतिमा आयोजना भएको प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो भयो । आर्मी छैटौँपटक फाइलनमा पुगेको हो । 

प्रतियोगिताको फाइनल शनिबार हुनेछ । पुलिस र आर्मीले तेस्रोपटक च्याम्पियन हुने लक्ष्य राखेका छन् । पुलिस, आर्मी र एपिएफ क्लबले समान दुईपटक उपाधि जितेका छन् । आर्मी तीन र एपिएफ एकपटक उपविजेता बनेका छन् । अहिलेसम्म प्रदेशबाट प्रतिनिधित्व जनाएका टोली च्याम्पियन बनेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक शीर्ष चार टोलीलाई एलिट ट्रफीमा प्रतिस्पर्धा गराउने योजना ल्याएको हो । पुलिस र आर्मीसँगै बागमती र मधेश प्रदेशले एलिट ट्रफी खेल्नेछन् । 

निर्णायक खेलमा आर्मीको जित
त्रिवि मैदानमा भएको निर्णायक खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मीले अन्तिम दुईमा स्थान पक्का गरेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीको जितसँगै बागमतीको फाइनल पुग्ने सम्भावना समाप्त भयो । पहिलो ब्याटिङ गरेको आर्मीले ३९.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनायो । गण्डकी २३.४ ओभरमा ६४ रनमा समेटियो । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले सर्वाधिक १६ र करण पँगेनीले १५ रन बनाए । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले २३ र कप्तान विनोद भण्डारीले १९ रन जोडे । 

दीपेन्द्रको अलराउन्ड प्रदर्शन
मूलपानीको माथिल्लो मैदानमा दीपेन्द्रसिंह ऐरीले बिहीबार भएको अन्तिम खेलमा पुलिसका लागि अलराउन्ड प्रदर्शन गरे । पुलिसले सुदूरपश्चिम प्रदेशविरुद्ध ७० रनको जित निकाल्यो । सुदूरपश्चिमविरुद्ध दीपेन्द्रले ४४ रन बनाउनुका साथै सर्वाधिक सात विकेट हात पारे । पहिलो ब्याटिङ गरेको पुलिसले ४७.५ ओभरमा अलआउट हुँदै १९९ रन बनायो ।

प्रत्युत्तरमा सुदूरपश्चिमले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२० रन बनायो । सुदूरपश्चिमविरुद्ध दीपेन्द्रसिंहले १० ओभरमा चार मेडनसहित २० रन खर्चिएर सात विकेट लिए । सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहराले सर्वाधिक ३० र किरण ठगुन्नाले २४ रन बनाए । पुलिसका लागि शंकर रानाले सर्वाधिक ४६ रन बनाए । दीपेन्द्रले ३८ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । अर्जुन साउदले ३२ र आरिफ शेखले २६ रनको योगदान गरे ।