१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोहित एपिएफमा आबद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५o:oo

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । सहभागी सबै टोलीले छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेटेर टोली घोषणा गरिसकेका छन् । सहभागीमध्ये विभागीय टोली एपिएफ पनि हो । एपिएफले उपाधि जित्ने लक्ष्यका साथ बिहीबार राष्ट्रिय क्रिकेट टोलीका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । रोहित यसअघि त्रिभुवन आर्मी क्लबमा आबद्ध थिए । उनी प्रधानमन्त्री कपकै लागि आर्मी छाड्दै एपिएफसँग आबद्ध भएका हुन् । पूर्वकप्तान मल्ल सम्भवतः पहिलोपटक घरेलु टोलीमा प्रशिक्षकको भूमिकामा देखिनेछन् ।

राष्ट्रिय टोलीका अनुभवी खेलाडीको आगमनले एपिएफका अन्य खेलाडी उत्साहित देखिएका छन् । आर्मीमा रहँदा रोहितले कप्तानी जिम्मेवारी पाएनन् । आर्मीले विनोद भण्डारीको कप्तानीमा छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । गत महिना वीरगन्जमा भएको प्रो क्लब टी–२० च्याम्पियनसिपमा रोहितले अन्तिमपटक आर्मीबाट प्रतिस्पर्धा गरे । राष्ट्रिय टोलीको कप्तानी गरेको छोटो समयमै रोहित नेपाललाई एकदिवसीय विश्वकपको ग्लोबल छनोटदेखि आइसिसी टी–२० विश्वकपमा समेत स्थान पक्का गराउन सफल भए । 

घरेलु क्रिकेटमा रोहितले गत वर्ष नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल टी–२० लिगमा विराटनगरको कप्तानी गरेका थिए । अन्तर्राष्ट्रियस्तरमा उनको कप्तानीमा नेपालले एसिया कप तथा एसियाडमा प्रतिस्पर्धा गरेको थियो । एसिया कपमा नेपालले पाकिस्तान र भारतजस्तो विश्वकै शक्तिशाली राष्ट्रविरुद्ध खेल्ने अवसर पायो । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनुभवी रोहितले अब एपिएफलाई उपाधि दिलाउने लक्ष्य राखेका छन् । 

बलियो एपिएफ 
२०१८ मा रोहित एपिएफमा आबद्ध थिए । उनले एक सिजन एपिएफलाई प्रधानमन्त्री कप विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एपिएफले पछिल्ला दुई संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको छ । यसपटक एपिएफमा रोहितलाई राष्ट्रिय टोलीका सदस्यहरू आसिफ शेख, अविनाश बोहरा र सन्दीप जोराले साथ दिनेछन् । यसैगरी, प्रदीप ऐरी, भुवन कार्की, मौसम ढकाल र कमलसिंह ऐरी पनि एपिएफमै छन् । सिनियर खेलाडीको साथ पाएको एपिएफ यसपटक बलियो टोली बनेको छ । 

पूर्वकप्तान ज्ञानेन्द्र भने सिनियर टोलीका एक भलाद्मी खेलाडीमा चिनिन्छन् । कुनै समय एपिएफबाट सिनियर टोलीका खेलाडीले घरेलु प्रतियोगिता खेलेका थिए । एपिएफले आफ्नो क्रिकेट टोली बनाउँदा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, शक्ति गौचनजस्ता खेलाडी अनुबन्ध गरेको थियो । गत वर्ष राष्ट्रिय टोलीका पूर्वखेलाडी शरद भेसवाकरको नेतृत्वमा एपिएफले प्रधानमन्त्री कप खेलेको थियो । 

यस वर्ष शरदले काठमाडौं जिल्ला क्रिकेटको कप्तानी गर्दै छनोट प्रतियोगितामा भाग लिएका थिए । काठमाडौंले खेलाडी घोषणा गर्दा शरदलाई बाहिर राखेको छ । एपिएफले आगामी आइतबार बागमती प्रदेशविरुद्ध पहिलो खेल खेल्नेछ । प्रधानमन्त्री कप शनिबारदेखि एकसाथ त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा सुरु हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेशले राउन्ड रोबिनका आधारमा खेल्नेछन् । 

क्यानले गर्‍यो सन्दीपलाई निलम्बन
क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै सन्दीपलाई आठ वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि क्यानले बिहीबार विज्ञप्तिमार्फत सन्दीपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको जनाएको छ ।

‘राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारणसमेत भएकाले निज लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारको क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँछौँ,’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

ad
ad