१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बायाँहाते स्पिनर सूर्य पुनः चम्किएपछि बागमतीबाट आर्मी परास्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२७:oo

बायाँहाते स्पिनर सूर्य तामाङ लगातार दोस्रो म्याचमा चम्किएपछि आज बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि तीन विकेटको जित हात पारेको छ । 

मधेश प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका सूर्यले आज पनि घातक बलिङलाई निरन्तरता दिँदै आर्मीका पाँच ब्याटरलाई पेभेलियनको बाटो देखाए । उनको धारिलो बलिङकाे मद्दतमा राष्ट्रियस्तरको प्रतियोगितामा आर्मीविरुद्ध बागमतीले २०२१ यता पहिलो जित निकाल्यो । 

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको आर्मीको निर्णय सूर्यले गलत साबित गरिदिए । सूर्यले मध्यक्रम ध्वस्त पारिदिएपछि पूरै टिम जम्मा २७.१ ओभरमा ९७ रनमा अलआउट हुन पुग्यो । ९८ रनको लक्ष्य बागमतीले २२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍याे । 

नाै ओभर बलिङ गरेका सूर्यले दुई मेडन ओभरसहित जम्मा २६ रन खर्चेर पाँच विकेट लिए । योसँगै उनले जारी प्रतियोगिताका चार खेलमा विकेट संख्या १७ पुर्‍याइसकेका छन् । उनी सबैभन्दा बढी विकेट लिनेमा शीर्ष स्थानमा छन् । 

राष्ट्रिय टिमका आठ नियमित सदस्य टोलीमा रहे पनि आर्मीले एक सय रन पनि पूरा गर्न सकेन । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ र भीम सार्कीले १८ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् । 

तीव्र गतिका बलर प्रतिश जिसीले इमरान शेखलाई पाँच रनमा क्याच र सन्तोष कार्कीलाई रिजन ढकालले नौ रनमा बोल्ड गरेपछि आर्मीको पतन सुरु भएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी रिजन ढकालको बलमा शून्यमा प्रतिशबाट क्याचआउट भए । त्यसपछि सूर्यले आर्मीको मध्यक्रम ध्वस्त पारिदिए । 

सूर्यले कुशल मल्ललाई शून्य, बसिर अहमदलाई पाँच र साहब आलमलाई सात रनमा बोल्डआउट गरे । त्यस्तै, भीम सार्कीलाई १८ र सन्दीप रजालीलाई एक रनमा क्याच गराउँदै पेभेलियन पठाए । प्रतिश र रिजनले दुई–दुई तथा कृर्जन गुरुङले एक विकेट लिए ।

९८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा बागमतीको ब्याटिङ पनि धर्मराउन पुगेको थियो । बलर प्रतिशले अलराउन्ड प्रदर्शन गर्दै २१ रनका अविजित रहँदै बागमतीलाई जित दिलाए । त्यसअघि अशोक पौडेलले २१ रन बनाएका थिए । ओपनर आशुतोष घिरैया दुई, इशान पाण्डे १२, कप्तान रित गौतम चार, प्रतीक श्रेष्ठ सात र रवीन जोशी १२ रनमै आउट भए । आर्मीका लागि सोमपालले तीन तथा जितेन्द्र मुखिया र साहब आलमले दुई–दुई विकेट लिए पनि आर्मीलाई जित दिलाउन सकेनन् । 

ad
ad