१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० माघ ११ बिहीबार १२:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

Read Time : > 1 मिनेट
२०८० माघ ११ बिहीबार १२:०४:००

हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। 

प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ। खोलानालामा पूर्ण रूपमा पानी जमेको छ। हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन। सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ।’ चिसो पनि उसैगरी बढ्दै गएको उनले बताए। चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मंसिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए। अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए।

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन्। शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन्। यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै, चिसोका कारण मंसिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए। मनाङ ङिस्याङ गाउँपालिका– ५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन्। तर, घर कुर्ने र चौँरी हेर्न यहीँ बसेकाे बताए। 

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ। जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ। हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए। जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन्।