१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ २ बुधबार o७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वनबाट सल्केको आगोले दाङमा २४ घर जले

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:३१:oo

दाङको राजपुर गाउँपालिका– ७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य १० वटा गोठसमेत जलेको वडाध्यक्ष पुष्कर वलीले जानकारी दिए । सोही गाउँमा २५ वटा घर थिए, तीमध्ये २४ वटा जलेका छन् । 

आइतबार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घरबाहेक सबै घर जलेका छन् । नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए । आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको वलीले बताए ।

यसैगरी, संखुवासभाको चैनपुरमा विद्युत् सर्ट भएर घर आगलागी हुँदा ३० लाख रुपैयाँबराबरको क्षति भएको छ । आइतबार बिहान साढे ७ बजेतिर चैनपुर नगरपालिका– ८ दुम्सेमा स्थानीय नरबहादुर मगरको घर विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

काठको खम्बा, फुसको छानो भएको टाडे घरमा आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पछिल्लो समय संखुवासभामा घर आगलागीको घटना तीव्र रूपमा बढेको छ । दुई दिनअघि मात्रै चैनपुर नगरपालिका– २ तिखीढुंगामा झलकबहादुर अधिकारी, मकालु गाउँपालिका– ४ भैँसीखर्कमा भूपाल तामाङ बम्जन र मकालु गाउँपालिका– ५ खोकताकमा भीमबहादुर तामाङको घर जलेर नष्ट भएको थियो । खोकताकमा घर जल्दा भीमबहादुरकी श्रीमती भीममाया तामाङसमेत जलेर घाइते भएकी थिइन् । 

शंखमूलमा ११ पसल जले
शंखमूल दोभानपुलमा आइतबार दिउँसो भएको आगलागीमा लाखौँ रुपैयाँबराबरको क्षति भएको छ । शंखमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देवी अटो मोबाइल्स प्रालिमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

काठमाडौंको शंखमूलमा आइतबार लागेको आगो नियन्त्रणमा लिँदै अग्निनियन्त्रक । तस्बिर:संजित परियार/नयाँ पत्रिका 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार आगलागीबाट सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरंग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र महर्जन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फास्टफुड रेस्टुरेन्टमा समेत क्षति भएको छ । बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको टोली तथा स्थानीयवासी, तीनवटा दमकलको सहयोग आगलागी नियन्त्रणमा लिइएको थियो । 

ad
ad