१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
त्रिवि क्रिकेट मैदानमा खेलपछि हात मिलाउँदै दुई टोलीका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल र वेस्ट इन्डिज ‘ए’ टी–२० सिरिज : अन्तिम दुई ओभरमा चुक्दा नेपाल १० रनले पराजित

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:५९:oo

अन्तिम दुई ओभरमा चुक्दा वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा नेपाल १० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा नौ विकेट गुमाएर १६० रनको मध्यम योगफल खडा गरेको थियो । सहज मानिएको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा १५० रन मात्र जोड्यो । पहिलो खेलमा नेपालले अनुभवी खेलाडीले भरिएको वेस्ट इन्डिजमाथि चार विकेटले जित निकालेको थियो । वेस्ट इन्डिजले दोस्रो खेल जितेसँगै पाँच खेलको सिरिज १–१ को बराबरी भएको छ । 

नेपाललाई अन्तिम दुई ओरभमा २६ रन आवश्यक थियो । इनिङ्सको १९औँ ओभरमा नेपालले ९ रन जोड्यो । नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक रह्यो । क्रिजमा आकाश चन्द र फर्ममा रहेका कप्तान रोहित पौडेल थिए । वेस्ट इन्डिजबाट म्याथ्यु फोर्डेले बलिङ गरेका थिए । १९.२ ओभरमा रोहितले चौका प्रहार गरे ।

१९.३ ओभरमा रोहितको कलमा आकाश रन लिन दौडिए । तर, उनी फलेचरबाट रनआउट भए । त्यसपछि क्रिजमा युवा खेलाडी सागर ढकाल आए । उनले १ रन लिँदै रोहितलाई स्ट्राइक दिए । फोडेले अन्तिम दुई बलमा सटीक बलिङ गर्दा रोहितले रन नै जोड्न सकेनन् । निर्णायक ओभरमा नेपालले ९ रन बटुलेको थियो । जसका कारण नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भयो । घरेलु टोलीका भरपर्दा खेलाडी कुशल भुर्तेल, अनिलकुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपाल डेथ ओभरमा कमजोर
बलिङ र ब्याटिङका क्रममा नेपाल डेथ ओभरमा चुकेको थियो । स्पिनरहरूको उत्कृष्ट प्रदर्शनमा बलियो वेस्ट इन्डिजको ब्याटिङ धर्मराएको थियो । इनिङ्सको १७.५ ओभरमा वेस्ट इन्डिज ११५–७ को दयनीय अवस्थामा थियो । अन्तिम दुई ओभरमा वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र गुडकेस मोती थिए । नेपालका लागि डेथ ओभरमा दीपेन्द्रसिंह ऐरी तथा आकाशले बलिङ गरेका थिए । १९औँ ओभरमा आकाशले १९ रन दिए । इनिङ्सकै अन्तिम ओभरमा दीपेन्द्रसिंहले २२ रन खर्चिए । यो दुई ओभरमा वेस्ट इन्डिजले ४१ रन बटुलेको थियो । फोर्डेले ६ बलमा एक छक्काको सहयोगमा ११ रन बनाए । 

गुडकेसले केवल ८ बलमा दुई चौका र चार छक्का प्रहार गरी ३३ रनको आक्रामक इनिङ्स खेले । लक्ष्य पछ्याउँदा पनि नेपाली ब्याट्सम्यान यही निर्णायक डेथ ओभरमा चुकेका थिए । दोस्रो खेलमा प्रशिक्षक मोन्टी देसाईले पाँच खेलाडी परिवर्तन गरेका थिए । लोकेस बम, सोमपाल कामी, आरिफ शेख, सागर ढकाल र आकाश चन्दले पहिलो ११ मा स्थान बनाए । पहिलो खेलमा स्थान बनाएका कमलसिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, ललितनारायण राजवंशी र प्रतिश जिसीले विश्राम पाए । 

रोहितको अर्धशतक
नेपालको ब्याटिङ इनिङ्समा कप्तान रोहितले सर्वाधिक ७१ रन जोडेका थिए । नटआउट इनिङ्स खेलेका उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । उनले ओवेड म्याकोयको ओभरमा छक्काको सहयोगमा ३४ बलमा अर्धशतकीय इनिङ्स खेलेका थिए । ५० रन जोड्दा रोहितले चार चौका र एक छक्का प्रहार गरेका थिए । पहिलो खेलमा उनले शतकीय इनिङ्स खेलेका थिए । चौथो क्रममा ब्याटिङ गर्न आएका रोहितले लगातार सात विकेटका लागि साझेदारी गरेका थिए । तर, उनलाई अन्य खेलाडीले गतिलो साथ दिएनन् । उनले गुल्सन झासँग पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै नेपाललाई ८.२ ओभरमा ६१–५ को स्थितिमा राखे । 

त्यसपछि रोहितले आरिफ शेखसँग छैँटौ विकेटका लागि ४३ रन जोडे । गुल्सनले ११ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । आरिफले १६ बलमा एक चौकाको सहयोगमा १२ रन बनाए । आरिफपछिका दीपेन्द्रसिंहले ३, सोमपालले ३ र आकाशले ७ रन जोडे । आक्रामक ब्याटिङ गरिरहेका गुल्सनलाई दायाँहाते स्पिनर तथा कप्तान रोस्टन चेजले बोल्ड गरे । धेरै पछि अवसर पाएका लोकेश बमले ओपनिङ गर्दै १६ बलमा एक चौका र दुई छक्कासहित १७ रनको योगदान दिए । तर, उनी घाइते भएर ३.१ ओभरमा रिटायर्ड हर्ट भए । प्राथमिक उपचारपछि क्रिजमा पुगेका लोकेशलाई गुडकेसले बोल्ड गरे । कुशल मल्ल गोल्डेन डक भए । वेस्ट इन्डिजका ओवेड म्याकवे र गुडकेसले समान दुई विकेट लिए । 

 स्पिनर चम्किँदा वेस्ट इन्डिजको ब्याटिङ औसत 
वेस्ट इन्डिजविरुद्ध स्पिनर सागर र कुशल भुर्तेल चुम्के । बलिङ परिवर्तनका क्रममा कप्तान रोहितले स्पिनर सागरलाई अवसर दिए । सागरले २.२ ओभरमा जोनसन चाल्र्स र अलिक अथनाजेको विकेट लिए । आफ्नो पहिलो ओभरमै सागरले वेस्ट इन्डिजका महत्वपूर्ण दुई विकेट लिए । त्यसपछि अर्का स्पिनर भुर्तेलले ९.६ ओभरमा वेस्ट इन्डिजका कप्तान रोस्टनलाई बोल्ड गरे । उनले केआसी कार्टीलाई पनि क्रिजबाट हटाए । कार्टी आउट हुँदा वेस्ट इन्डिज १३.२ ओभरमा ७९–४ को स्थितिमा थियो । नेपालका लागि सोमपाल र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । 

बायाँहाते स्पिनर सागरले चार ओभरमा १९ रन खर्चिए । भुर्तेलले २३ रन दिएका थिए । दीपेन्द्रसिंहले तीन ओभरमा ३९ र आकाशले तीन ओभरमा ३९ खर्चिए । वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा चार चौकासहित सर्वाधिक ४३ रन बनाए । फ्लेचरले वेस्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् । रोस्टनले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । ओपनर जोनसनले ११ रन जोडे । 

फिल्डिङ र बलिङमा राम्रो भयो
मोन्टी देसाई, प्रशिक्षक, नेपाल

दोस्रो खेलमा पनि खेलाडीले राम्रो गरेका छन् । नेपालले फिल्डिङ र बलिङमा राम्रो प्रदर्शन गरेको थियो । वेस्ट इन्डिजलाई पावर प्लेमा रोक्नु राम्रो थियो । प्रतिस्पर्धामा सागरको खेल तारिफयोग्य छ । वेस्ट इन्डिजले अन्तिम ओभरमा आक्रामक खेल्दै बाउन्ड्री लगाएको थियो । खेलमा लोकस घाइते हुनु नै टर्निङ प्वाइन्ट मान्नुपर्छ । उनी घाइते हुँदा राम्रो साझेदारी भइरहेको थियो । अन्तिम समयमा राम्रो ब्याटिङ गर्न सकेनौँ ।  

धेरै रन बनाउने जिम्मेवारी थियो
गडकेस मोती, खेलाडी, वेस्ट इन्डिज

व्यक्तिगत प्रदर्शनबाट खुसी छु । मेरो रणनीति नै आक्रामक खेल्दै धेरै रन बनाउने थियो । यो योजना सफल भयो । नेपालविरुद्ध योजनाका साथ प्रतिस्पर्धा ग¥यौँ । यस्तो किसिमको पिचमा भन्न सकिन्न । यहाँ जे पनि हुन सक्छ । हाम्रो मुख्य लक्ष्य नै टी–२० विश्वकपअगाडि हरेक खेलमा सुधार गर्नु हो । अहिले नै कमीकमजोरीको समाधान गर्नुपर्छ । 

ad
ad