१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ ३ बुधबार ०६:१९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रूपेश–विमलको समूहद्वारा दुई खर्ब ८५ अर्बको हुन्डी र क्रिप्टो कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ ३ बुधबार ०६:१९:००

व्यापारिक घरानासम्म देखियो क्रिप्टोको सम्पर्क

रूपेश श्रेष्ठ र विमल पोद्दारको समूहले दुई खर्ब ८५ अर्ब रुपैयाँबराबरको हुन्डी तथा क्रिप्टो कारोबार गरेको निष्कर्ष प्रहरीले निकालेको छ । गिरोहमाथि दुई महिना लामो अनुसन्धान गरेर प्रहरीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो । 

प्रहरीले उनीहरूको समूहमा कम्तीमा १७ जनाको संलग्नता पुष्टि गरेको छ । जसमध्ये पाँच पक्राउ परेका छन् भने १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा चलाउन सिफारिस गरिएको छ । गिरोहका नाइकेमध्येका एक पोद्दारसमेत फरार छन् । 

पोद्दार ३८ क्विन्टल सुन तस्करीमा मुछिएका भारतीय व्यापारी हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रूपेशलाई पक्राउ गरेलगत्तै पोद्दार परिवारसहित विदेश भागेका थिए । 

गत ६ मंसिरमा काठमाडौं बागबजारबाट पक्राउ परेका रूपेशमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारसहित १७ जनाको संलग्नता पुष्टि भएको हो । सो समूहमा व्यापारिक घरानाका व्यक्ति तथा सुन तस्करीमा संलग्नको समेत सम्पर्क देखिएको र त्यस विषयमा पछि अनुसन्धान गरिने सिआइबीले जनाएको छ । सो समूहको हुन्डी तथा क्रिप्टो कारोबारको पहिलो चरणमा विस्तृत अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । 

प्रहरीले श्रेष्ठसहित मीनबहादुर जिसी, आशिष अग्रवाल, कुमार परियार र झमिन्द्र खतिवडालाई पक्राउ गरी संगठित अपराध तथा नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टोसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । गिरोहका नाइकेमध्ये एक श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । बागबजारस्थित उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । उनको हुन्डी कारोबारको खाता नै बरामद गरी प्रहरीले विस्तृत अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा धेरै अमेरिकाबाट उनले अवैध कारोबार गर्दै आएका थिए । अमेरिकामा रहेका उनका परिवारका सदस्यलाई पनि प्रहरीले फरार प्रतिवादीका रूपमा मुद्दा चलाउन सिफारिस गरेको जिल्ला सरकारी वकिल कार्यालय स्रोत बताउँछ । 

अमेरिका, दुबई, भारतसम्ममा सञ्जाल  
यो समूहको सञ्जाल अमेरिका, संयुक्त अरब इमिरेट्स(युएई) र भारतमा पनि देखिएको छ । यसमा भारतीय नागरिक पोद्दारसँगै सतिश शर्माको समेत सम्पर्क भएको पत्ता लागेको छ । केही समययता काठमाडौं बस्दै आएका शर्मा पनि फरार छन् । युएई र भारततर्फको कारोबार पोद्दार र शर्मा तथा अमेरिकाका श्रेष्ठले मिलाउँदै आएका थिए । नेपालमा विदेशबाट हुन्डीमार्फत पैसा भिœयाउने र त्यसको कारोबार क्रिप्टोबाट गर्दै आएको अनुसन्धानमा संलग्न सिआइबीका अधिकारी बताउँछन् । नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित मिलेर सिआइबीले अनुसन्धान गरेको हो । हुन्डी र क्रिप्टो कारोबारमा संलग्न देशकै यो ठूलो समूह भएको प्रहरी अधिकारी बताउँछन् । कतिपय व्यापारिक घरानासँगसमेत उनीहरूको शंकास्पद कारोबार देखिएको स्रोत बताउँछ । तर, क्रिप्टो कारोबारसम्बन्धी प्रविधि र दक्ष जनशक्ति नहुँदा प्रहरीले यसमा त्यसतर्फ विस्तृत अनुसन्धान गर्न सकेन । मुद्दा दायर भइनसकेको भन्दै सिआइबीले यस विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । 

सुन तस्करीमा पनि सम्बन्ध 
सुन तस्करीको भुक्तानी पनि क्रिप्टोमार्फत नै हुँदै आएको प्रहरी अधिकारी बताउँछन् । पोद्दारमाथि विगतदेखि नै सुन तस्करीको आरोप लाग्दै आएको छ । ३८ क्विन्टल सुन तस्करीमा पक्राउ परी छुटेका पोद्दार पछिल्लो १४ केजी सुन तस्करीको छानबिनमा पनि छन् । गत २२ मंसिरमा विमानस्थलमा सुनसहित पक्राउ परेका चन्द्र घलेले सोधपुछका क्रममा विगतमा आफूहरूले पोद्दारको समूहसँग मिलेर तस्करीको काम गरेको बताएका थिए । सो मुद्दामा फरार रहेका जीवन गुरुङसँग पनि उनको निकटता देखिएको छ । उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्सारले सिआइबीलाई पत्राचार गरेको छ । डिल्लीबजारमा एड्रेस लाउन्स नामक रेस्टुरेन्ट चलाउँदै आएका पोद्दारको सुन, हुन्डी तथा क्रिप्टोको समूहसँग सम्पर्क देखिएको हो ।