Skip This
अवैध रूपमा आयात हुने सामग्रीको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका टेकराज थामी
२o८१ बैशाख २९ शनिबार o९:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अवैध रूपमा आयात हुने सामग्रीको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, टेकराज थामी
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:१९:oo

एक वर्षमा ६६ करोडभन्दा बढी कारोबार गर्ने तीनजना पक्राउ, क्रिप्टो कारोबारकै कारण नेपाली बैंकबाट ठूलो परिमाणको रकम गायब 

भन्सार छली आयात गरिएका सामग्रीको भुक्तानीमा क्रिप्टोकरेन्सी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको छ । क्रिप्टो कारोबारमा संलग्न तीन अभियुक्त पक्राउ परेपछि यो तथ्य खुलेको हो । क्रिप्टो कारोबारलाई नेपालको कुनै पनि बैंकिङ प्रणालीले चिन्दैन । त्यसो हुँदा यसको कारोबारलाई राष्ट्र बैंकले अवैध मानेको छ । प्रहरीका अनुसार विशेष गरी चीन, हङकङ, सिंगापुर, मलेसिया, दुबई, भारतलगायतका मुलुकबाट अवैध तवरले आयात गरिएका सामग्रीको भुक्तानीमा क्रिप्टो प्रयोग हुने गरेको देखिएको छ । 

अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले अवैध तवरले आयात गरिएका सामग्रीको भुक्तानी क्रिप्टोमार्फत हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिने बताए । ‘क्रिप्टो कारोबारमा संलग्न केही अभियुक्त पक्राउ परेका छन् । उनीहरूसँगको प्रारम्भिक अनुसन्धानबाट अवैध तवरले आयात गरिएका सामग्रीको भुक्तानीमा क्रिप्टो प्रयोग हुने गरेको खुलेको छ । विस्तृत अनुसन्धान हुन बाँकी छ । यसको जालो निकै ठूलो हुन सक्ने देखेका छौँ । बाँकी तथ्य थप अनुसन्धानपछि खुल्ला,’ उनले भने ।

कृष्ण कोइराला प्रवक्ता, महानगरीय प्रहरी अपराध महाशाखा
क्रिप्टो कारोबारमा संलग्न केही अभियुक्त पक्राउ परेका छन् । उनीहरूसँगको प्रारम्भिक अनुसन्धानबाट अवैध तवरले आयात गरिएका सामग्रीको भुक्तानीमा क्रिप्टो प्रयोग हुने गरेको खुल्छ । यसको जालो निकै ठूलो रहेको देखिन्छ ।

महाशाखाले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न झापा बिर्तामोड नगरपालिका–१ का २२ वर्षीय अनुप मिश्र, काभ्रे पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं बाफलका २७ वर्षीय राहुल चचानलाई पक्राउ गरेको छ । एक वर्षदेखि क्रिप्टो धन्दामा संलग्न उनीहरूले यस अवधिमा ६६ करोड ७९ लाख ७९ हजार नौ सय ८३ रुपैयाँको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये सबैभन्दा ठूलो कारोबार गर्ने अनुप हुन् । उनले वर्षदिनमा ३५ करोड ४६ लाख ८३ हजार ६ सय ११ रुपैयाँको क्रिप्टो कारोबार गरेका छन् । उनको खातामा १२ हजार आठ सय ३२ अमेरिकी डलर बराबरको ०=३१७३६१९ बिट क्वाइन मौज्दात रहेको खुलेको छ ।

अर्का कारोबारी दिनेशले यस अवधिमा २४ करोड ७९ लाख ५६ हजार नौ सय १८ रुपैयाँको कारोबार गरेको खुलेको छ । उनको एकाउन्टमा एक हजार तीन सय ९९ अमेरिकी डलरबराबरको ०=०३६०१३९२ बिट क्वाइन मौज्दात गरेको खुलेको छ । राहुलले वर्षदिनमा ६ करोड ५३ लाख ३९ हजार चार सय ३९ रुपैयाँबराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । उनको एकाउन्टमा भने ६ सय ५१ अमेरिकी डलरबराबरको मात्रै बिट क्वाइन रहेको भेटिएको छ । 

वैदेशिक रोजगारबापत भित्रिने रेमिट्यान्समा कमी आउनुको कारणसमेत क्रिप्टो कारोबार रहेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए । ‘पक्राउ परेकाहरूविरुद्ध हामीले विशेष ढंगले अनुसन्धान गरिरहेका छौँ । विदेशबाट भित्रिने रेमिटे्यान्सबाट क्रिप्टो खरिद हुने गरेको प्रारम्भिक बयानबाट खुलेको छ । यसले के देखाउँछ भने नेपाल भित्रिने रेमिट्यान्समा कमी आउनुको धेरैमध्ये एउटा कारण क्रिप्टोको कारोबार हो,’ उनले भने । पक्राउ परेका तीनैजनाले दैनिक पाँच हजारदेखि ५० हजारसम्मका युएसडिटी (क्रिप्टो करेन्सी) कारोबार गर्ने गरेको र त्यस्ता क्रिप्टो बेट, हाइपर फन्डलगायतका अनलाइन प्लेटफर्महरूमा लगानी हुने गरेको अनुसन्धानबाट खुलेको छ । 

यसरी हुन्छ कारोबार 
नेपालमा क्रिप्टोकरेन्सी कारोबारमा सबैभन्दा धेरै प्रयोग हुने वेबसाइट ‘बिन्यान्स’ हो । कारोबारका लागि यो वेबसाइटमा गएर ‘एकाउन्ट’ खोल्न सकिन्छ । सोही एकाउन्टबाट युएसडिटी, इटिएच, एसएचआइबी, एडिए, भिइटी, अल्फा, डोगलगायतका क्रिप्टो करेन्सी खरिद गर्न सकिन्छ । नेपालमा बसेर क्रिप्टो खरिद गर्न चाहनेले आदेशअनुसारको ‘कोड नम्बर’मा रकम जम्मा गर्न सक्छ । यो कारोबारलाई नेपालको बैकिङ प्रणालीले चिन्दैन । अवैध तवरले आयात गरिएका सामग्रीको भुक्तानी गर्न पछिल्ला दिनमा यो प्रणाली प्रयोगमा आउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

नेपाली बैंकबाट रातारात ठूलो परिमाणको रकम गायब हुनुमा कहीँ न कतै यो प्रणाली दोषी हुन सक्ने महाशाखा प्रमुख एसएसपी कुँवरले बताए । ‘क्रिप्टोको कारोबारलाई नेपालको कुनै पनि बैकिङ प्रणालीले चिन्दैन । अवैध तवरले आयात गरिएका सामग्रीको भुक्तानीमा यो प्रणाली प्रयोग भएको पक्राउ परेकाहरूले नै बताएका छन् । घटनालाई पुष्टि गर्ने क्रम जारी छ । नेपाली बैंकबाट रातारात अर्बौं रुपैयाँ गायब भएको सामाचार आइरहेका छन् । अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

प्रहरीका अनुसार विदेशमा भएकाहरूले ‘बिन्यान्स’ एकाउन्टमार्फत सीधै डलरमा क्रिप्टो खरिद गर्न सक्छन् । त्यसबापतको रकम एजेन्टले हुन्डीमार्फत नेपालका जुनसुकै ठाउँमा उपलब्ध गराउन सक्छन् । यसो गरिँदा नेपाल भित्रिने रेमिट्यान्स उतै रोकिन्छ । पछिल्ला वर्ष नेपालमा रेमिट्यान्स कम भित्रिनुको कारण क्रिप्टो कारोबार हुन सक्ने महाशाखाका प्रवक्ता एसपी कोइरालाले बताए । ‘तीन अभियुक्त पक्राउ परेका छन् । विदेशमा काम गर्न गएका नेपालीले डलर तिरेर उतै क्रिप्टो खरिद गर्ने र त्यसबापतको रकम हुन्डीमार्फत नेपालमा भुक्तानी हुने गरेको बयान उनीहरूले दिएका छन् । उनीहरूको बयानलाई आधार मानेर हामी अनुसन्धानमा छौँ । तथ्य भेटिँदै जालान्,’ उनले भने ।

तीन महिनामा क्रिप्टो कारोबारका पाँच घटना 

पछिल्ला अनुसन्धानले नेपालमा व्यापक मात्रामा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको देखाएको छ । तीन महिनामा यससम्बन्धी पाँचवटा घटनाको अनुसन्धान भइसकेको छ । गत १६ माघमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले रवीन्द्र भन्ने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको थियो । उनले तीन महिनामा डेढ करोडको कारोबार गरेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको थियो । 

६ माघमा महानगरीय अपराध महाशाखाकै टोलीले राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरेको थियो । गत १० माघमा राजश्व अनुसन्धान विभागले कैलालीका दिनेश खड्कासहित चारजनाविरुद्ध क्रिप्टोको अवैध कारोबार अभियोगमा मुद्दा दायर गरेको हो । ३७ करोड ६४ लाख बिगो कायम गरी विभागले मुद्दा दायर गरेको थियो । १ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्रिप्टोमा प्रयोग हुने ३० वटा डिभाइस बरामद भएको थियो । 

यस्तो कारोबार गोप्य रूपमा हुने भएकाले प्रहरीलगायत निकायलाई सूचना पाउन निकै कठिन हुने गरेको छ । यसका बाबजुद पटकपटक पक्राउ पर्नुले यससम्बन्धी कारोबार व्यापक रहेको देखाउने प्रहरी अधिकारी बताउँछन् । पछिल्लो समय सरकारले क्रिप्टोको कारोबारमाथि निगरानी गर्न प्रहरीलगायत निकायलाई निर्देशन दिँदै आएको छ । 

ad
ad