१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई खर्ब ८६ अर्बको क्रिप्टो कारोबार गर्ने चारजना जेल चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:५७:oo

दुई खर्ब ८६ अर्ब रुपैयाँबराबरको क्रिप्टो करेन्सी तथा हुन्डी कारोबार गर्ने गिरोहका चारजना पुर्पक्षका लागि जेल चलान भएका छन्। पक्राउ परेकामध्ये एकजनालाई जिल्ला अदालत, काठमाडौंले आइतबार धरौटीमा छाड्ने आदेश गरेको छ।

काठमाडौंको बागबजारका रूपेश श्रेष्ठ नेतृत्वको गिरोहका १७ जनाविरुद्ध सरकारी वकिल कार्यालय हुँदै प्रहरीले गत साता मुद्दा दायर गरेको थियो। जसमा पाँचजना पक्राउ परेका थिए। 

रूपेशसहित पक्राउ परेका आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियार जेल चलान भएका छन्। झनिन्द्रप्रसाद खतिवडालाई भने अदालतले पाँच लाख धरौटी माग गरेको छ। पाँच लाख धरौटी राखेका खतिवडामाथि थप अनुसन्धानका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको छ।

प्रहरीले रूपेशकी श्रीमती रचना शर्मा, भाइ दीपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

भारतीय नागरिक विमल पोद्दारसहित नुवाकोटका शरद भट्टराई, धादिङका वीरेन्द्र मगर, सुनसरीका विगलसिंह शर्मा, सिन्धुलीका ओमकुमार श्रेष्ठ, स्याङ्जाका दीपक शर्मा, रामेछापका वङ्देन फुन्सोक लामा, नवलपरासीका गोविन्द श्रेष्ठ र रामेछापका रुदे तामाङ यो मुद्दामा फरार छन्।

गिरोहका नाइकेमध्ये एक भारतीय नागरिक पोद्दार हुन्। उनी यसअघि सुन तस्करीमा पक्राउ परी छुटेका थिए। डेढ महिनाअघि विमानस्थलमा बरामद भएको डेढ किलो सुन तस्करीको घटनामा पनि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

गत ६ मंसिरमा काठमाडौं बागबजारबाट पक्राउ परेका रूपेशमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारसहित १७ जनाको संलग्नता पुष्टि भएको र अरू धेरै व्यक्तिमाथि थप छानबिन गर्नुपर्ने औँल्याएको छ। गिरोहका नाइकेमध्ये एक श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। बागबजारस्थित उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो। उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए।

उनको हुन्डी कारोबारको खाता नै बरामद गरी प्रहरीले विस्तृत अनुसन्धान गरेको थियो। जसमा सबैभन्दा धेरै अमेरिकाबाट उनले अवैध कारोबार गर्दै आएका थिए। बयानको क्रममा उनले आफूले हुन्डी कारोबार गरेको स्वीकार गरेका छन्। प्रहरीले दुई खर्ब ८६ अर्बको बिगो बनाएकोमा उनले थोरै मात्र कारोबार गरेको दाबी गरेका छन्।

प्रहरीका अनुसार रूपेशले ३५ वटा तथा आशिषले १२ वटा वालेटमार्फत क्रिप्टो कारोबार गर्दै आएका थिए। उनीहरूविरुद्ध संगठित अपराध र राष्ट्र बैंक ऐनअनुसार क्रिप्टोको कसुरमा मुद्दा दायर भएको हो।

यो समूह नेपालमा हुन्डी र क्रिप्टोको कारोबार गर्ने सबैभन्दा ठूलो समूहमध्ये भएको प्रहरीले जनाएको छ। तर, यसमा जोडिएका अरू धेरै व्यक्तिको हकमा भने विस्तृत अनुसन्धान हुन सकेको छैन। रूपेशका भान्जा आयुष श्रेष्ठ, भारतीय नागरिक सतिश शर्मा, सञ्जय उपाध्यायलगायत धेरै व्यक्तिको यो गिरोहमा संलग्नता देखिएको छ। 

ad
ad