१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सोमालिल्यान्ड : इथियोपिया–सोमालिया द्वन्द्वको कारण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३९:oo

इथियोपिया–सोमालिल्यान्डबीचको सम्झौताले पहिल्यैदेखि अशान्त यस क्षेत्रमा नयाँ तनाव सुरु भएको छ

साेमालियाले आफ्नो स्वशासित भूमि सोमालिल्यान्डलाई राजनीतिक पहिचान दिने गरी इथियोपियाले बन्दरगाह निर्माण गर्न गरेको सम्झौता रोक्न युद्धमा जानसमेत तयार रहेको चेतावनी दिएको छ । सोमालियाली राष्ट्रपतिका वरिष्ठ सल्लाहकारले यस्तो चेतावनी दिएका हुन् । गत १ जनवरीमा भूपरिवेष्टित मुलुक इथियोपियाले सोमालिल्यान्डको तटमा नौसेनाको आधार विकास गर्न दिने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौतालगत्तै विश्वको सबैभन्दा अस्थिरमध्येको एक मानिने हर्न अफ अफ्रिका तरंगित भएको छ । सोमालिल्यान्ड तीन दशकअघि सोमालियाबाट एकल रूपमा अलग भएको घोषणा गरेको स्वशासित भूमि भए पनि सोमालियाले सोमालिल्यान्डलाई आफ्नो अभिन्न मान्दै आएको छ ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले देशवासीलाई ‘मातृभूमिको रक्षाका लागि तयार रहन’ आह्वान गरेका थिए । सम्झौतापछि राजधानी मोगादिसुमा इथियोपियाको विरोधमा कैयौँ जुलुस निक्लिसके । ‘हामी उपलब्ध सम्पूर्ण कूटनीतिक बाटो पछ्याउँदै छौँ । इथियोपिया होसमा आउला भन्ने हाम्रो आशा छ । तर, अबी अहमद साँच्चै युद्ध चाहन्छन् भने हामी युद्धका लागि पनि तयार छौँ,’ राष्ट्रपति मोहमुदका वरिष्ठ सल्लाहकारले इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई उल्लेख गर्दै चेतावनी दिए । 

विगतमा पनि इथियोपियाले मोगादिसुमा प्रभावशाली रहेका उग्र इस्लामिक समूह अल–सबाबलाई हटाउन भन्दै सोमालियाको सीमाभित्र सैन्य अभियान चलाएको थियो । तर, त्यस अभियानले अल–सबाब विद्रोहीलाई थप विस्तार गर्न प्रेरित गर्‍यो । आज अल–सबाबलाई परास्त गर्न सोमालियामा अफ्रिकी संघको शान्ति सेना तैनाथ छ, जसमा सबैभन्दा धेरै फौज इथियोपियाका छन् । सोमालिल्यान्ड सन् १९६० सम्म बेलायतको उपनिवेश थियो भने सोमालिया इटलीको कब्जामा थियो । बेलायतको शासनबाट मुक्त भएको पाँच दिनपछि सो हिस्सा स्वेच्छिक रूपमा सोमालियामा समाहित भयो । तथापि सोमालियामा सोभियत समर्थित सैन्य शासन सुरु भएपछि यस भेगमा केन्द्रविरुद्ध विद्रोह उठ्यो । झन्डै एक दशक लामो गृहयुद्धपछि सन् १९९१ मा सोमालिल्यान्डले सोमालियाबाट अलग भएको घोषणा गर्‍यो । 

आज, सोमालिल्यान्ड व्यवहारमा एक स्वतन्त्र देशजस्तै छ । यसको आफ्नै मुद्रा, एक संसद् र विदेशी कूटनीतिक मिसनहरू छन् । सोमालिल्यान्डले स्वतन्त्र प्रशासन र राजनीतिक अभ्यास गरिरहँदा पछिल्ला दुई दशकदेखि सोमालिया भने अल–कायदा आबद्ध अल–सबाबविरुद्ध लडिरहेको छ । यस द्वन्द्वले सोमालिया विश्वको सबैभन्दा असुरक्षित देशमा परिणत भएको छ । उता यस धार्मिक अतिवादबाट अछुतो रहेको सोमालिल्यान्ड अपेक्षाकृत शान्त छ । तथापि पछिल्लो समय सोमालिल्यान्ड र सोमालियाका फौज तिनको पकड क्षेत्र रहेको अन्तिम स्थानमा भिड्न थालेका छन् । 

सोमालिल्यान्डलाई स्वतन्त्र देशका रूपमा अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन । अफ्रिकी देशहरूले उसको स्वतन्त्रतालाई मान्यता नदिएसम्म पश्चिमी सरकार मान्यता दिने पक्षमा छैनन् । हिजो उपनिवेशवादी शक्तिबाट विरासतका रूपमा हासिल भएका वर्तमान सीमारेखा पुनः सीमांकन नगर्ने अफ्रिकी संघको लामो नीतिका कारण अफ्रिकी नेताहरू यसमा हच्किएका छन् । स्वतन्त्र राष्ट्रको हैसियतविना सोमालिल्यान्डले आवश्यक लगानी र अन्तर्राष्ट्रिय सहायता भिœयाउन सकिरहेको छैन । एक अन्तर्वार्तामा सोमालिल्यान्डका विदेशमन्त्री एसा कायिदले इथियोपियासँगको बन्दरगाह सम्झौताले उनको देशको ‘आत्म–निर्णयलाई वैध बनाउने’ बताउँदै अन्य देशलाई पनि मान्यता दिन प्रेरित गर्न सक्ने बताए । ‘सुरुदेखि नै हामी अन्तर्राष्ट्रिय मान्यताका लागि लडिरहेका छौँ । र, यो हामीले सोमालिल्यान्डका जनतालाई दिन सक्ने सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने । सोमालिल्यान्ड र इथियोपियाबीचको सम्झौतालाई लिएर धेरै अन्योल छ । दुवै पक्षले सम्झौताको पूर्ण पाठ सार्वजनिक गरेका छैनन् । सम्झौतापछि बोल्ने क्रममा सोमालिल्यान्डका राष्ट्रपति मुस बिही अब्दीले इथियोपियाले उनको देशको समुद्री तटको एक हिस्सा ५० वर्ष लिजमा लिने र त्यसको बदलामा सोमालिल्यान्डको स्वतन्त्रतालाई औपचारिक मान्यता दिन सहमति जनाएको बताएका थिए । इथियोपियाले लिजमा लिएको हिस्सालाई ‘नौसैनिक’ र ‘व्यावसायिक’ उद्देश्यका लागि विकास गर्ने पनि उनले बताएका थिए । तर, इथियोपियाले भने आफूले ‘सोमालिल्यान्डको स्वतन्त्र हैसियतबारे मूल्यांकन गर्न’ मात्र सहमति जनाएको बताएको छ । 

सम्झौताबारे जानकार एक पश्चिमी कूटनीतिज्ञले त्यसलाई ‘असमझदारी पत्र’को संज्ञा दिए । उता कायिद भने इथियोपियाले सोमालिल्यान्डलाई मान्यता दिने प्रतिबद्धतापछि नै सम्झौता भएको बताउँछन् । सम्झौतामा पुग्नुअघि आफूहरूबीच ‘वर्षौंसम्म’ छलफल चलेको खुलाउँदै कायिदले भने, ‘हाम्रो देशको स्वतन्त्रताको मान्यताविना सम्झौता अघि बढ्नेछैन । भूपरिवेष्टित इथियोपियालाई समुद्री पहुँच चाहिन्छ । एकअर्काका आवश्यकता पूरा गर्ने सर्तमा मात्र सम्झौता भएको हो । 

सन् १९९३ मा इथियोपियाको पूर्वी हिस्सा इरिट्रिया स्वतन्त्र भएपछि समुद्रसँगको पहुँच बन्द हुँदै विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टित देश बनेको थियो । गत अक्टोबरमा इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इरिट्रियाको विभाजनलाई ऐतिहासिक गल्ती बताउँदा इरिट्रियासँग पुनः युद्धको त्रास उत्पन्न भएको थियो । ‘सन् २०३० मा हाम्रो देशको जनसंख्या १५ करोड पुग्ने अनुमान गरिएको छ । र, यति ठूलो जनसंख्यालाई भौगोलिक कारगारमा राख्न सकिँदैन,’ अबीले भनेका थिए । 

सोमालियाले युद्धको धम्की दिए पनि इथियोपियासँग युद्धमा जाने सम्भावना कम भएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकार बताउँछन् । विशेषतः अहिले अल–सबाबसँगको युद्धमा फसेकाले उसलाई अर्को मोर्चामा युद्ध खोल्न कठिन हुने इन्टरनेसनल क्राइसिस ग्रुपका ‘हर्न अफ अफ्रिका’ क्षेत्रका निर्देशक एलन बोसवेलले भने । तथापि इथियोपिया–सोमालिल्यान्डबीचको सम्झौताले पहिल्यैदेखि अशान्त यस क्षेत्रमा नयाँ तनाव सुरु भएको छ । सोमालियाका राष्ट्रपतिले सम्झौतालगत्तै इरिट्रियाको भ्रमण गरे । अहिले उनी इजिप्ट भ्रमणको तयारीमा छन् । ती दुई मुलुक इथियोपियाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी हुन् र दुवैले बन्दरगाह सम्झौतापछि सोमालियालाई समर्थन जनाएका छन् । ‘अबीले उनको देशलाई बन्दरगाह दिलाउने कुरालाई आफ्नो विरासतका रूपमा हेरेका छन् । 

– द गार्जियनबाट

ad
ad