१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:४६:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार दलले उम्मेदवार टुंग्याए, कांग्रेसमा राति २ बजेसम्म गुटको किचलो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४६:oo

राष्ट्रिय सभाका १९ सदस्यका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । एमाले, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका छन् । गुटको किचलोका कारण सत्तागठबन्धनको ठूलो दल कांग्रेसलाई भने उम्मेदवार छान्न सकस भएको छ । पार्टी पदाधिकारीहरू राति २ बजेसम्म सानेपास्थित कार्यालयमा छलफलमै छन् । 

गठबन्धनबाट कांग्रेसको भागमा १० सिट परेको छ । तर, आइतबार दिनभरजसो आन्तरिक छलफल भए पनि संस्थापन र इतर समूहबीच भागबन्डा मिल्न सकेको छैन । त्यसको असर सत्तागठबन्धनकै अर्को दल एकीकृत समाजवादीमा पनि परेको छ । बागमतीमा ‘अन्य’ वा ‘दलित’मध्ये कुन क्लस्टर कांग्रेसले लिने र कुन आफूले पाउने छिनोफानो नहुँदा समाजवादीले पनि उम्मेदवार छान्न सकेको छैन् । 

कांग्रेसमा नेता डा. शेखर कोइराला–महामन्त्री गगन थापा समूहले १० सिटमा चार सिट दाबी गरेको छ । तर, सभापति शेरबहादुर देउवा तीन सिट मात्र दिन तयार छन् । कोइराला र थापालाई धुम्बाराही बोलाएरै देउवाले तीन सिट प्रस्ताव गरेका थिए । कोइराला–थापाले प्रस्ताव अस्वीकार गर्दै चार सिटमा अडान राखेका थिए । उनीहरूले अघिल्ला निर्वाचनमा पराजितहरूलाई उम्मेदवार नबनाउन सभापतिको ध्यानाकर्षणसमेत गराएका छन् । 

‘हामीले चार सिटमा दाबी गरेका छौँ । हाम्रो अडानबाट पछि हड्दैनौँ । थकाउने प्रयास हो भने त्यो निरर्थक हुनेछ,’ इतर समूहका नेता अर्जुननरसिंह केसीले भने, ‘हामीले अवसर नपाएकालाई अवसर दिनुपर्छ पनि भनेका छौँ ।’पार्टीभित्रै सिट बाँडफाँट पेचिलो बनेपछि देउवाले उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक सारेर नेताहरूसँग छलफल गरेका थिए । छलफलमा इतर समूहको मागअनुसार देउवा चार सिट दिन तयार भएनन् । त्यसपछि इतर समूह पनि आफ्नो रणनीति बनाउन कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा भेला भएका थिए ।

नेता कोइराला, महामन्त्री थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत छलफलमा सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार कार्यसम्पादन समिति बैठकमा चार सिटलाई बटमलाइन बनाउने र संस्थापनले पेलेर जाने नीति लिए निर्वाचनमा सहभागी नहुनेसम्मको रणनीति बनाएको थियो । संसदीय बोर्डको बैठकले सुरुमा कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभापति देउवाले आफूअनुकूलका नेतालाई व्यवस्थापन गर्न सहज हुने गरी गठबन्धनबाट क्लस्टर छनोट गरेको इतरको आरोप थियो ।१ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक साँझ ५ बजे बस्यो । यसक्रममा सभापति देउवा र नेता कोइरालाबीच छुट्टै छलफल पनि भयो । त्यस्तै, पदाधिकारी र नेताहरूबीच पनि छलफल भयो । तर, निष्कर्ष निस्किएन । 

तीन घन्टासम्म चलेको छलफलमा इतर समूहले चार सिटको दाबी नछाड्ने र संस्थापन तीन सिटभन्दा धेरै दिन तयार नहुने अवस्था भएपछि डा. कोइराला बैठक नै छाडेर बाहिरिएका थिए । कोइराला बाहिरिएपछि पनि छलफल भने जारी थियो । केही समयपछि प्रमुख सचेतक रमेश लेखकले कोइरालालाई फोन गरेर बोलाए । ‘तपाईंविना हामी सहमति गर्दैनौँ, फर्कनुहोस्,’ लेखकले भनेका थिए । त्यसपछि फर्किएका कोइराला देउवासँग छलफलमा जुटेका थिए ।

यस्ता छन् माओवादीका उम्मेदवार
गठबन्धनको भागबन्डामा ६ सिट पाएको माओवादीले उम्मेदवार टुंग्याएको छ । आइतबार बसेको पदाधिकारी बैठकले कोशीबाट महिलातर्फ चम्पादेवी कार्की, बागमतीमा अपांगता÷अल्पसंख्यकतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यतर्फ झक्कु सुवेदी, कर्णालीमा दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिलातर्फ रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

ओखलढुंगाकी चम्पादेवी जनयुद्धकी घाइते हुन् । उनी हाल ओखलढुंगा जिल्ला इन्चार्ज र अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव हुन् । उनी ०६४, ०७० र ०७९ मा समानुपातिकमा परे पनि सांसद हुन पाएकी थिइनन् । बागमतीबाट उम्मेदवार बनाइएका  अधिकारी पार्टीमा कम अवसर पाउने नेतामा पर्छन् । नुवाकोट घर भएका उनी पनि जनयुद्धका घाइते हुन् । हाल उनी माओवादीको प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष छन् । पर्वतकी मनरूपा द्वन्द्वपीडित एकल महिला हुन् । उनी ०६४ को संविधानसभा चुनावमा पर्वत–१ बाट उम्मेदवार बने पनि पराजित भएकी थिइन् भने ०७९ मा समानुपातिकमा परे पनि सांसद बन्न सकेकी थिइनन् । 

लुम्बिनीबाट उम्मेदवार बनाइएका सुवेदी ०६४ को पहिलो संविधानसभामा काठमाडौं– २ बाट निर्वाचित भएका थिए । ०७० मा भने उनी पराजित भए । उनी माओवादीका केन्द्रीय सदस्य हुन् । कर्णालीमा उम्मेदवार बनाइएकी विक कालिकोटका जिल्ला इन्चार्ज र दलित मुक्ति मोर्चाको कर्णाली इन्चार्ज छन् । सुदूरपश्चिमबाट उम्मेदवार बनाइएकी चन्द ०६४ मा बैतडी– २ बाट निर्वाचित भएकी थिइन् । हाल उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इन्चार्ज छिन् ।

जसपाबाट पूजा चौधरी
जसपाले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी ०७९ मा भएको चुनावमा रौतहट– ३ प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन् । केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट हुँदा जसपाको भागमा मधेशको महिला क्लस्टर परेको थियो ।

उम्मेदवार छनोट प्रक्रियामै महामन्त्री शर्माको ६ बुँदे असहमति
महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार छनोट प्रक्रियामा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदीय बोर्डमा ६ बुँदे मौखिक विमति राखेका छन् । ‘संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?’ उनले प्रश्न गरेका छन्, ‘राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ?

कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?’ कांग्रेस विधानमा संसदीय बोर्डबाट उम्मेदवार टुंग्याउने व्यवस्था छ । तर, बोर्ड नै अपूर्ण छ । शर्माले समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा भन्ने प्रश्न पनि गरेका छन् । उनले सभापतिसँगै इतर समूहका नेतामाथि पनि प्रश्न उठाएका छन् । ‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?’ उनले पार्टीमा वर्षौँ योगदान गरेका योग्य नेताहरूको बेवास्ता गर्दै उम्मेदवारी चयन प्रक्रिया गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । शर्माले जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्ने माग गरेका छन् । 

विवादविनै  सिटौलाको टिकट 
झापा ३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित कृष्णप्रसाद सिटौलालाई कांग्रेसले निर्विवाद उम्मेदवार बनाएको छ । कोशी प्रदेशबाट सिटौला उम्मेदवार बन्दै छन् । सभापति देउवाले सुरुमै सिटौलालाई टिकट दिएका थिए, उनको नाममा बैठकमा कुनै असहमतिका आवाज उठेनन् । टिकट लिएलगत्तै उनी आइतबारै उम्मेदवारी दर्ताको तयारीका लागि विराटनगर गए । कांग्रेस उच्च स्रोतका अनुसार सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष नै बनाउने सहमति छ । ‘उहाँको विषयमा बैठकमा छलफल र विवादको अवस्था आएन । सभापतिज्यूले उहाँलाई टिकट दिनुभयो । गठबन्धनको सहमतिअनुसार उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति छ,’ स्रोतले भन्यो ।

राष्ट्रपतिले पनि मागे एक सिट 
कांग्रेसमा उम्मेदवार चयन पेचिलो बन्दै गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले पनि एक सिट मागेका छन् । उनले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला दुवैलाई फोन गरेर आफ्नोतर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउन दबाब दिएको स्रोतको भनाइ छ । देउवाले राष्ट्रपतिका तर्फबाट प्रस्तावित एक र शेखर–गगन समूहका तीन गरी चार सिट पुर्‍याउन तयार रहेको बताएका थिए । तर, कोइराला यसरी चार संख्या पुर्‍याउन तयार छैनन् । ‘राष्ट्रपतिज्यूको फोन आएपछि दुई नेता छलफलमा बस्नुभयो, सभापतिज्यूले राष्ट्रपतिबाट आएको नाम र इतरबाट तीन गरी चार सिट दिन तयार हुनुभयो,’ स्रोतले भन्यो, ‘तर, कोइराला मान्नुभएन ।’

 यी हुन् टुंगिएका उम्मेदवार
एमाले
कोशी : रुक्मिणी 
कोइराला (महिला), पर्शुराम अधिकारी (अन्य)
मधेश : उषादेवी थरुनी (महिला), डा. अर्जुनकुमार सिंह  (अन्य)
बागमती : रोचककुमारी चौलागाईं (महिला), त्रिलोचन निर्मल पौडेल (अन्य), विवेक देवकोटा (अपांगता÷अल्पसंख्यक), 
ध्रुवराज विश्वकर्मा (दलित)
गण्डकी : सम्झना देवकोटा (महिला), चक्रबहादुर पराजुली (अन्य), हेमन्द्र शेरचन (अपांगता÷अल्पसंख्यक)
लुम्बिनी : तुलसाकुमारी 
केसी (महिला), झपेन्द्रबहादुर घर्ती (अन्य)
कर्णाली : विमलाकुमारी शाही (महिला), डिल्लीप्रसाद भट्ट (अन्य), हिक्मत विक (दलित)
सुदूरपश्चिम : सावित्रादेवी घिमिरे (महिला), ईश्वरीप्रसाद खरेल (अन्य), रामचन्द्र जोशी (अपांगता/अल्पसंख्यक)

 माओवादी
कोशी : चम्पादेवी कार्की (महिला)
बागमती : श्रीकृष्ण अधिकारी (अपांगता÷अल्पसंख्यक)
गण्डकी : मनरूपा शर्मा (महिला)
लुम्बिनी : झक्कु सुवेदी (अन्य)
कर्णाली : विष्णु विश्वकर्मा (दलित)
सुदूरपश्चिम : रेणु चन्द (महिला)
 जसपा
मधेश : पूजा चौधरी (महिला)
 राप्रपा
कोशी : उद्धव पौडेल (अन्य)
मधेश : सोमेश्वनाथ उपाध्याय (अन्य)
बागमती : नानु नगरकोटी (महिला), हेमजंग गुरुङ (अन्य), भरतमणि भट्ट (अपांगता/अल्पसंख्यक), पूर्णबहादुर विश्वकर्मा (दलित)
गण्डकी : गौमाया श्रेष्ठ (महिला), रोमबहादुर भण्डारी (अन्य)
लुम्बिनी : विजयीलक्ष्मी सिंह (महिला), निरञ्जन थापा (अन्य)
कर्णाली : लक्ष्मी सिंह (महिला)
सुदूरपश्चिम : रोमजंग स्वाँर  (अन्य)

दुई सिट पाएको समाजवादीले पनि छान्न सकेन उम्मेदवार
सत्तागठबन्धनमा दुई सिट पाएको एकीकृत समाजवादीले बागमतीमा कुन क्लस्टर पाउने टुंगो नहुँदा उम्मेदवार तय गर्न सकेको छैन । अन्य पाए उपाध्यक्ष प्रमेश हमाल र दलित पाए घनश्याम रिजाल उम्मेदवार बन्ने सम्भावना छ । कर्णालीमा भने महिला क्लस्टर पाएको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार तय गर्ने जिम्मा अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको छ ।

ad
ad