१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भ्रमण सफल, साझेदारी सुदृढ गर्न प्रतिबद्ध : जयशंकर 

फर्किए भारतीय विदेशमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o१:oo

भारतीय विदेशमन्त्री डा. एस जयशंकर दुईदिने भ्रमण सम्पन्न गरेर शुक्रबार दिल्ली फर्केका छन् । बिहीबार संयुक्त आयोगको बैठकदेखि शीर्ष नेताहरूसँगको भेटघाट सकेर शुक्रबार फर्किंदा उनले भ्रमण सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् । 

भारत नेपालसहितका छिमेकीसँगको सम्बन्ध पुनः परिभाषित गर्न प्रतिबद्ध रहेको जयशंकरको भनाइ छ । ‘नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार छिमेकमा हाम्रा साझेदारसँगको सम्बन्ध र त्यसमा पनि नेपालसँगको सम्बन्ध पुनः परिभाषित गर्न प्रतिबद्ध छ,’ उनले त्रिभुवन विश्वविद्यालयमा शुक्रबार केन्द्रीय पुस्तकालय उद्घाटनपछि आयोजित कार्यक्रममा भने, ‘भ्रमण सफल भयो । आगामी दिनमा दुई देशबीच सुदृढ साझेदारीका कोसेढुंगा थप्दै जानेछौँ ।’ 

विदेशमन्त्री जयशंकरले दुई देशबीचको सम्बन्धमा पछिल्ला वर्षहरूमा निकै सकारात्मक परिवर्तन भएको र आगामी दिनमा साझेदारी सुदृढ गर्न भारत प्रतिबद्ध रहेको पनि बताए । ‘भ्रमणका दौरानमा हामीले जलविद्युत्लगायत विषयमा महत्वपूर्ण सम्झौता गरेका छौँ । यी सम्झौताले साधारण नेपाली जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछन् भन्नेमा विश्वस्त छु,’ उनले भने, ‘दुई देशबीच साझेदारी कनेक्टिभिटी बढेको छ ।’ 

बिहीबार दुई देशबीच दीर्घकालीन विद्युत् व्यापारसहित चार सम्झौतामा हस्ताक्षर भएको थियो भने अन्तर्देशीय तीन विद्युत् प्रसारण लाइन उद्घाटन भएको थियो । जयशंकरले नेपाल–भारत सहकार्य थप सुदृढ हुने र भारतले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता पनि जनाए ।

परराष्ट्रमन्त्री एनपी साउदले भारतसँगको सम्बन्धलाई नेपालले प्राथमिकतामा राखेको भन्दै पछिल्ला सहमति र सम्झौताप्रति प्रसन्नता व्यक्त गरे । नेपालको हवाई क्षेत्र, पूर्वाधारदेखि ज्ञानको क्षेत्रमा भारतले सहयोग पुर्‍याएकोमा प्रशंसा गर्दै उनले दुई देशको सम्बन्ध सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको बताए । 

शुक्रबार भारतीय सहयोगमा निर्मित केन्द्रीय पुस्तकालय, २५ विद्यालय र ३२ स्वास्थ्य संस्थाहरूको उद्घाटन भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीहरूले भूकम्पपछि निर्मित परियोजनाको उद्घाटन गरेका हुन् । भारतले ०७२ को भूकम्पपछि नेपाललाई २५ करोड डलर अनुदान र ७५ करोड डलर सहुलियत ऋण दिएको थियो ।

यसपटक जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि पुनर्निर्माणका लागि भारत सरकाले नेपाललाई १० अर्ब रुपैयाँ दिने निर्णय गरेको जानकारी जयशंकरले प्रधानमन्त्री प्रचण्डलाई गराएका थिए । जाजरकोट र रुकुम पश्चिमका लागि भारतले पाँच चरणमा राहत सामग्री, बसोवासका सामान उपलब्ध गराएको छ । 

ad
ad