१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
धादिङको तेम्बाभिरमा महको सिकार गर्दै स्थानीय
२o८१ जेठ ६ आइतबार o६:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तेम्बाभिरमा ‘हनी हन्टिङ’

धादिङको गंगाजमुना गाउँपालिकाले योजना बनाई भिरमौरी र साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:४६:oo

छङ्गाछुर तेम्बाभिर । मौरीको चाकाले भिर भरिएको छ । मह झिक्न डोरीका भ¥याङ लगाइएका छन्, जसमा तीन युवा मच्चिइरहेका छन् । हरियो स्याउलाको पुल्ठो बालेर मौरीको चाकामा धुवाँ लगाउँदै कोक्रोमा मह थाप्दै डोरीमा बाँधेर तल झार्दै गरेको दृश्य हेर्न पुगेका दर्शकको ताँतीले तेम्बाभिरमा रौनक थप्यो । डेढ साता लगाएर शनिबारसम्म १० गाग्री (एउटा ग्रागीमा १२ माना) मह संकलन गरिएको छ ।

गंगाजमुना गाउँपालिका– २ र ३ को सिमानामा रहेकोे ताप्राङ खोलामा रहेको यो भिरमा मह निकाल्न री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङ सुरक्षा सामग्रीसहित डोरीको भर्‍याङबाट मौरीको चाका रहेको ठाउँमा पुग्छन् । मौरीलाई हरियो स्याउलाले धुवाँ लगाउँदै भगाउँछन् । र, महको चाका डोरीको सहायताबाट कोक्रोमा हाल्दै तल खोलामा रहेका साथीहरूलाई पठाउँछन् । 

तल खोलामा रहेका साथीहरू महले भरिएका चाका हातैले निचोरेर मह जम्मा गर्छन् । र, कोक्रो फेरि भिरमै पठाउँछन् । कोक्रो झार्दा र माथि भिरमा पठाउँदा (मह काढ्दा) उनीहरूको जोस र चिच्याइले खोलादेखि भिरसम्म गुन्जिन्छ । 

‘गंगाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवद्र्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), गंगाजमुना गाउँपालिकाको संयुक्त टोली तेम्बाभिरमा पुगेर स्थानीयले ‘हनी हन्टिङ’ गरेका हुन् । कठिन र जोखिमपूर्ण मह सिकार (हनी हन्टिङ)ले गंगाजमुना गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको छ । गाउँभरिका मानिस हनी हन्टिङ हेर्न पुगेका थिए ।  

भिरमौरीको मह वैशाख र मंसिरमा गरी दुईपटक मह काढ्ने गरिन्छ । वैशाख–जेठमा काढ्ने मह विषाक्तयुक्त हुने कुर्मु तामाङ बताउँछन् । ‘यो महलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । तर, सन्तुलन मिलाएर खान नसके यसले बिरामी पनि पार्न सक्छ,’ उनले भने, ‘महले कसै–कसैलाई नसहने र बिरामी नै बनाउने हुन्छ । रातो गुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्छ । मंसिरमा काढ्ने मह भने पोसिलो हुन्छ । भिरमौरीको महलाई स्थानीयवासीले सड्केको मर्केकोजस्ता बिरामीका लागि औषधिका रूपमा प्रयोग गर्दै आएका छन् ।’

 तम्बा भिर मौरीले मात्र होइन, सँगै रहेको झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । डाँडाबाट खसेको झरना, मौरीको चाकाले भरिएको भिर र डोरीमा झुन्डिएर पिङ खेलेझैँ देखिने भिरमा मह काढ्ने युवालगायतका दृश्य मनमोहक देखिन्छन् । 

तेम्बा भनेको भिर ‘ह्यारा’को अर्थ भिरमौरी बस्ने ठाउँ भन्ने बुझिन्छ । मह झिक्नका लागि नजिकै रहेको लताप, धुसेनी र तावलका स्थानीय बासिन्दाको मात्रै सहभागिता रहने गरेको छ । मह झिक्न भिरमा प्रयोग हुने डोरीको भ¥याङलगायतका सामग्री खरिद गर्न हाल ‘री’ गाउँका ६ जना युवाले दुई लाख लगानी गरेको र उत्पादन भएको मह एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री–वितरण गरिँदै आएको गंंगाजमुना गाउँपालिका– २ का वडाध्यक्ष बलबहादुर तामाङले बताए । 

गत वर्ष परम्परागत शैलीमा थौरै मह काढिएको थियो । यसपटक भने व्यवस्थित रूपमा काढिएको हो । ‘बाबुबाजेको पालामा चोयाको डोरी बाटेर मह काढ्ने गरिन्थ्यो । ३० वर्ष जति ग्याप भयो मह नकाढेको,’ वडाध्यक्ष तामाङले भने, ‘मह काढ्ने दक्ष व्यक्तिको अभावका कारण रोकिएको थियो । हामीले मह काढ्ने मानिसको खोजी गर्‍यौँ ।’ भिरमौरी र मह काढ्ने शैलीलाई साहसिक पर्यटनका रूपमा विकास गर्न पालिकाले योजना बनाएर अगाडि बढ्ने गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताए । 

‘भिरमौरी, साहसिक पर्यटन प्रवद्र्धनजस्ता क्षेत्रलाई व्यवस्थित गर्न पालिकाले सञ्चारकर्मी, टानलगायत सरोकारवाला निकायसँग पनि समन्वय गरिरहेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले गंगाजमुना गाउँपालिका धनी छ,’ श्रेष्ठले भने, ‘लामो समयदेखि भिरमौरीको मह उत्पादन हुँदै आएको तेम्बाभिरमा मह उत्पादनका लागि पालिकाले आवश्यक सामग्री सहयोग गर्दै आएको छ । साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको क्षेत्र भएकाले भिरमा रहेको महलाई बेच्ने मात्रै भन्दा पनि अवलोकनस्थल बनाएर पर्यटक भित्र्याउने योजनामा छौँ । क्यानोइङको सम्भावना पनि छ । गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने योजना रहेको छ ।’ 

गंगाजमुनालाई साहसिक पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने गंगाजमुना गाउँपालिका– ३ का वडाध्यक्ष राजकुमार गुरुङले बताए । ‘भिरमौरीको मह काढ्ने बेच्ने मात्रै भन्दा पनि अन्य थुप्रै सम्भावना रहेकाले वडा र पालिकाले अध्ययन गरिरहेको छ । मह सिजनको व्यापार होला, तर पर्यटकीय दृष्टिकोणले विकास गर्न सके पालिकाकै विकासमा टेवा पुग्छ,’ उनले भने । 

ad
ad