१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
एकदिने भ्रमणमा आइतबार नेपाल आएकी जापानी विदेशमन्त्री कामिकावा योको प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै । उनले राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भिन्दाभिन्दै भेटवार्ता गरेकी थिइन् ।
२o८१ जेठ ५ शनिबार o६:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जापानी विदेशमन्त्रीको भ्रमण : नेपाललाई निरन्तर सहयोग गर्ने वचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२४:oo

जापानले नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने जनाएको छ । एकदिने भ्रमणमा आइतबार नेपाल आएकी जापानी विदेशमन्त्री कामिकावा योकोले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको छुट्टाछुट्टै भेटमा यस्तो वचनबद्धता जनाएकी हुन् । 

परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालयमा भएको द्विपक्षीय वार्तामा दुई देशबीच सम्बन्धका सबै पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘हालसम्म सम्बन्धको समग्र पक्ष, सहकार्य तथा आगामी दिनमा आर्थिक तथा विकास सहयोग एवं सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे छलफल भयो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुई नेताबीच कृषि, जलविद्युत्, पूर्वाधार विकास, कनेक्टिभिटी, निर्यात प्रवद्र्धन, औद्योगिक उत्पादन, वैदेशिक लगानी, पर्यटनसहित नेपालको प्रमुख विकास प्राथमिकतामा सहयोग  र सहायता अभिवृद्धि गर्ने विषयमा छलफल भएको पनि परराष्ट्रले जनाएको छ । औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायतमा जापानको अनुभव, ज्ञान, क्षमता, प्रविधिलगायत विषयमा पनि छलफल भएको छ ।

नेपालमा सुरुङ प्रविधि र सडक पूर्वाधारमा गरेको सहयोगका विषयमा छलफल भएको छ । सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ हुँदै छ । दुवै परराष्ट्रमन्त्रीले उच्चस्तरीय भ्रमण आदानप्रदानका विषयमा पनि छलफल गरेका थिए । दुई देशबीच द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक रुचिका विषयमा छलफल भएको छ । जापानी विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री श्रेष्ठले रात्रिभोज आयोजना गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले बताए । नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति प्रधानमन्त्री प्रचण्डले आभार व्यक्त गरेका छन् । ‘नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो, ‘आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने विश्वास लिएको छु ।’

जापानी विदेशमन्त्रीले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्न जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले दुई देशको सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै त्यसलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिइन् । परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री कामिकावा नेपाल आएकी थिइन् । उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्साल, जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, परराष्ट्रका उत्तर–पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाललगायतले स्वागत गरेका छन् । जापानी विदेशमन्त्रीले आइतबार कान्तिपथस्थित मण्डला बुक प्वाइन्टमा पुगेर पुस्तक खरिद गरेकी थिइन् । नेपाल आएलगत्तै उनले वसन्तपुर दरबार स्क्वायरको पनि भ्रमण गरेकी थिइन् । 

जापानी सम्राट्को माछापुच्छ्रे  मोह
राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटका लागि शीतलनिवास पुगेकी जापानी विदेशमन्त्री कामिकावाले जापानका सम्राट्मा नेपालका हिमालप्रति असाधारण मोह रहेको जानकारी दिइन् । ‘जापानका सम्राट्ले स्वच्छ पानीको उदाहरण दिँदै हरेक कार्यक्रमको सुरुमा नेपालको माछापुच्छ्रे  हिमालको फोटो देखाउनुहुने रहेछ,’ राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले भने, ‘मकालु वा कुनै नेपालको हिमाल देखाएर कार्यक्रम समापन गर्नुहुने रहेछ । विदेशमन्त्रीले यो जानकारी दिनुहुँदा राष्ट्रपतिज्यूले प्रशन्नता व्यक्त गर्नुभयो ।’ थापाका अनुसार राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानी बचाउने विषयमा नेपालको चिन्ता सुनाएका थिए । कार्बन उत्सर्जन गर्ने विकसित मुलुकले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा गम्भीर भइदिन उनको अनुरोध थियो । 

ad
ad