
कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतमा सोमबार थुनछेक बहस सकिएसँगै न्यायाधीश रामचन्द शर्माको एकल इजलासले दर्लामीलाई धरौटीमा छाड्न इन्कार गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका– ७ घर भएका दर्लामीलाई १२ पुसमा रामेछापबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । दर्लामीसँगै सहकारीको रकम ठगी गरेको आरोप लागेका १९ मध्ये दुईजना थुनामा पुगेका छन् । यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की अदालतले २१ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउनमा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी कास्की प्रहरीले मुद्दा दर्ता गरेको थियो । प्रहरीले गरेको उजुरी मागपछि एक हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो । जाहेरीमा ठगिएको रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ पुगेको थियो ।