१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

धोती दिवस मनाउन माइतीघर पुग्दा मन्त्री, सांसद नै पक्राउ

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o९:oo

धोतीमा सजिएर ‘राष्ट्रिय धोती दिवस’ मनाउन निषेधित क्षेत्रमा  निस्किएका जनमत पार्टीका नेता–कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । मन्त्री नै गिरफ्तारमा परेकी छिन् । निषेधित क्षेत्र तोकिएको माइतीघर मण्डलामा धोती दिवस मनाएको भन्दै सोमबार प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित सामान्य प्रशासनमन्त्री अनिता साह र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानसहित ५३ नेता–कार्यकर्तालाई पक्राउ गरेर दिनभर नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साह, सचिव बिपी साह, प्रवक्ता शरदसिंह यादवलगायत पदाधिकारी तहका नेताहरू पनि थिए । पक्राउ परेका सबैलाई नेपाल पुलिस क्लबमा लगिएको थियो भने पक्राउको विरोधमा मन्त्री साहले क्लबभित्रै अनशन बस्ने चेतावनी दिएकी थिइन् ।

जनमत पार्टीको भ्रातृ संगठन विद्यार्थी जनमत संघको आयोजनामा बिहान ८ बजे ‘माइतीघर मण्डला’मा धोती दिवस मनाउने कार्यक्रम तय भएको थियो । प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम नगर्न भनेपछि जनमतका कार्यकर्ताहरू धोतीमा सजिएर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भेला भएका थिए । राष्ट्रिय धोती दिवस लेखिएको ब्यानरसहित उनीहरू उपस्थित भएका थिए । आफू त्यहाँ पुग्नासाथ प्रहरीले सांस्कृतिक पहिरन लगाएर उभिएका नेता–कार्यकर्तामाथि धरपकड गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए ।

‘हामीले ०७१ सालदेखि नै जनवरी १ तारिखका दिन धोती दिवस मनाउँदै आएका छौँ,’ राउतले नयाँ पत्रिकासँग भने, ‘माइतीघरमा निषेधित भनेपछि साथीहरू आर्ट काउन्सिलमा जम्मा हुनुभएको थियो । जब म त्यहाँ पुगेँ, प्रहरीले धरपकड गर्न सुरु गर्‍यो । हाम्रो कुनै राजनीतिक र्‍याली थिएन । हामी सांस्कृतिक पहिरन लगाएर हिँडेका थियौँ । माइतीघरमा पुगेर एउटा तस्बिर मात्रै खिचाउने कार्यक्रम थियो । धरपकड भएपछि हामीले धोती दिवस मनाउन पाउनुपर्छ भनेर नाराबाजी गर्‍र्यौँ । त्यही क्रममा प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’

प्रहरीले भने प्रदर्शनमा सहभागीहरू प्रहरीको घेरा तोड्दै अघि बढेपछि नियन्त्रणमा लिएको बताएको छ । तर, सरकारभित्रै रहेको दलको नेता तथा मन्त्री पक्राउ पर्नुले सरकारको विभेदपूर्ण चरित्र उदांगो गरेको राउतको आरोप छ । ‘हाम्रा केही साथीहरूलाई हात हालेर गिरफ्तार गरियो, उपाध्यक्ष दीपककुमार साहलाई घुँडामा चोट नै लाग्यो,’ राउतले भने, ‘यसलाई सकारात्मक तरिकाले लिने कुरा हुँदैन । नेपालमा विभिन्न जातजाति भेषभूषा छन् । सबैले राष्ट्रिय पोसाक दिवस मनाइरहँदा हामीले हाम्रो सांस्कृतिक पोसाक धोती लगाएर मनायौँ । सबैले आ–आफ्नो पोसाक लगाऔँ भन्ने मान्यता हो । तर, यहाँ धोती लगाउने स्वतन्त्र छैन जस्तो देखियो ।’

बहालवाला मन्त्री, पार्टी अध्यक्ष र संसदीय समितिका सभापतिलाई नै यसरी पक्राउ गर्दा आमसर्वसाधारणलाई राज्यले गर्ने व्यवहारमाथि झन् शंका गर्ने ठाउँ उब्जिएको राउतको भनाइ छ । ‘क्याबिनेटकै मन्त्री, पार्टी अध्यक्ष, संसदीय समितिका सभापतिलाई यसरी पक्राउ गरेपछि हामीकहाँ कुन स्तरको लोकतन्त्र रहेछ,’ राउतले प्रश्न गर्दै भने, ‘यो त मधेशी भनेरै हेपेको हो कि ? जब कि निषेधित क्षेत्रमा हामी गएकै थिएनौँ । पछि प्रहरीले तितरबितर बनाएपछि त्यहाँ पुगिएको थियो । त्यहाँ फोटो खिचाउने कार्यक्रम मात्रै थियो ।’

पक्राउपछि गृहमन्त्री र प्रहरी प्रमुखलाई सभामुखको फोन
नेपालको संविधानमा कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने व्यवस्था छ । तर, प्रहरीबाट कुनै जानकारी नआएपछि सभामुख देवराज घिमिरे स्वयंले चासो राखेका थिए । सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरसँग फोन गरेर पक्राउबारे जानकारी लिएका थिए । ‘फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर माननीयहरूलाई छुटाउने बताउनुभयो । लगत्तै, भृकुटीमण्डप पुगेर गृहमन्त्रीले माननीयहरू छुटेको जानकारी दिनुभएको थियो भने आइजिपीले घटनाबारे जानकारी गराउनुभएको थियो,’ सञ्चारविज्ञ घिमिरेले भने । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सभामुख घिमिरेलाई फोन गरेपछि उनले यसबारे चासो लिएका थिए । ‘यो कुन प्रकारको अराजकता हो,’ भन्दै खानले पुलिस क्लबभित्रैबाट सभामुखलाई फोन गरेका थिए । त्यसपछि दिउँसो ३ बजेतिर गृहमन्त्री श्रेष्ठ स्वयं गएर उनीहरूलाई रिहा गराएका थिए । ‘गृहमन्त्रीज्यू आउनुभयो र ‘तपाईंहरू निषेधित क्षेत्रमा जानुहुँदैन थियो,’ भन्नुभयो,’ राउतले भने, ‘खासमा माइतीघरलाई निषेधित क्षेत्र यसरी महिनौँसम्म घोषणा गर्न मिल्दैन । सदन अहिले बन्द भएको छ । माइतीघर पनि निषेधित छ । जनताले आफ्नो आवाज कहाँ उठाउने, विरोध कहाँ गर्ने ? यो त जनतामाथि राज्यले गरिरहेको दमन नै हो ।’

राजनीतिक र्‍याली थिएन, सांस्कृतिक थियो
 सिके राउत, अध्यक्ष, जनमत

माइतीघरमा निषेधित भनेपछि साथीहरू आर्ट काउन्सिलमा जम्मा हुनुभएको थियो । जब म त्यहाँ पुगेँ, प्रहरीले धरपकड सुरु गर्‍यो । कुनै राजनीतिक र्‍याली थिएन, हामी सांस्कृतिक पहिरन लगाएर हिँडेका थियौँ । धरपकड भएपछि हामीले धोती दिवस मनाउन पाउनुपर्छ भनेर नाराबाजी गर्‍यौँ । अनि प्रहरीले हामीलाई पक्राउ गर्‍यो । यहाँ धोती लगाउने स्वतन्त्रता छैन जस्तो देखियो ।

ad
ad