१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँदिल्ली
२०८० पौष ८ आइतबार ०९:०८:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतीय यात्रु सवार विमानमा ‘मानव तस्करी’को आशंका

Read Time : < 1 मिनेट
नयाँदिल्ली
२०८० पौष ८ आइतबार ०९:०८:००

संयुक्त अरब इमिरेट्सबाट निकारागुआ जाँदै गरेको विमानमा ‘मानव तस्करी’ भएको आशंकामा फ्रान्समा अवतरण गराएपछि दुईजनालाई पक्राउ गरी सोधपुछ गरिएको छ । रोमानियाली लिजेन्ड एयरलाइन्सको एयरबस ए–३४० विमानलाई उत्तरपूर्वी फ्रान्सको एक विमानस्थलमा अवतरण गराएपछि सोधपुछ गरिएको फ्रान्सेली प्रहरीले जनाएको हो । सोधपुछ गरिएका व्यक्तिबारे थप विवरण दिइएको छैन । त्यस्तै, यात्रु र चालक दलका सदस्यको पहिचान जाँच गरिएको छ । ‘विमानमा सवार ३०३ यात्रु र चालक दलका सदस्यको पहिचान जाँच भइरहेको छ,’ फ्रान्सको सरकारी वकिलको कार्यालयले जनाएको छ । उनीहरूको यात्राको उद्देश्य पनि जाँच भइरहेको छ । 

फ्रान्सको राष्ट्रिय संगठनविरोधी अपराध एकाइ जुनाल्कोले अनुसन्धानको नेतृत्व गरिरहेको छ । यात्रुहरूले अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने योजना बनाएको हुन सक्ने घटनासँग परिचित स्रोतलाई हवला दिँदै भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । फ्रान्समा अवतरण गरेपछि उनीहरूलाई पहिले विमानमा राखिएकोमा केहीबेरपछि टर्मिनल भवनमा बेडको व्यवस्था गरेर बस्न लगाइएको थियो । विमान अवतरणपछि सुरक्षा अधिकारीले विमानमा सवार केही यात्रुलाई नियन्त्रणमा लिएर केही समय विमानस्थललाई बन्द गरेका थिए ।

फ्रान्सेली प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । दुबईबाट निकारागुआतर्फ उडिरहेको विमानका अधिकांश यात्रु भारतीय मूलका नागरिक रहेका फ्रान्सस्थित भारतीय दूतावासले जनाएको थियो । विमान अवतरण गरेलगत्तै दूतावासको एक टोली विमानस्थलमा पुगेको थियो । दूतावासले विमान ‘टेक्निकल हल्ट’ का कारण रोकिएको जनाएको थियो । सो विमान रुमेनियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको स्वामित्वमा थियो । लेजेन्ड एयरलाइन्सकी वकिल लिलियाना बाकायोकाले कम्पनीले कुनै गल्ती नगरेको बताइन् ।