१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष ६ शुक्रबार ०९:५७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकियो १४ मतदान केन्द्र, दुई हजार ४७ मतदाता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष ६ शुक्रबार ०९:५७:००

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार सात प्रदेशमा सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको हो

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि मोरङको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेशका लागि धनुषाको जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमती प्रदेशका लागि मकवानपुरको हेटौँडास्थित श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवनलाई मतदानस्थल तोकिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशका लागि कास्कीको पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि सुर्खेतको प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्‍िचम प्रदेशका लागि कैलालीको धनगढीस्थित प्रदेश सभा भवनलाई मतदानस्थल तोकिएको छ । 

तोकिएका मतदानस्थलमा मतदानका लागि प्रदेश सभाका सदस्यलाई बेग्लै र पालिका प्रमुख–उपप्रमुखहरूलाई बेग्लै केन्द्र तोकिएको आयोगले जनाएको छ । मतदानस्थलमा निर्वाचन अधिकृत तोक्नका लागि आयोगले न्यायपरिषद्सँग न्यायाधीशको नाम मागेको छ । ७ जनाको नाम प्राप्त भएको र १६ गते आयोगले निर्वाचन अधिकृत नियुक्त गर्ने प्रवक्ता शर्माले बताए । तोकिएका मतदान केन्द्रमा ११ माघमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । 

दुई हजार ४७ मतदाताले चुन्नेछन् राष्ट्रिय सभाका २० सदस्य
राष्ट्रिय सभाका एकतिहाइ सदस्य अर्थात् २० जनाको पदावधि २० फागुनमा सकिँदै छ । दुई हजार ४७ मतदाताले उनीहरूलाई चुन्नेछन् । प्रदेश सभा सदस्य पाँच सय ४९ जना, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४ सय ९८ जना गरी जम्मा दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरेको आयोगले जनाएको छ । स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाई ५४९ जना कायम गरिएको छ ।

त्यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कुल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाई कुल १४९८ जनाको नामावली स्वीकृत गरिएको छ । स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ । निर्वाचनमा प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार छ ।