१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बुटवलमा प्रांगारिक कृषि मेला हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५८:oo

बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्रांगारिक कृषि मेला हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्रांगारिक कृषि मेला–२०८०’ गर्न लागेको हो।

प्रांगारिक खेतीको विकास, प्रवर्द्धन तथा कृषिमा व्यवसायीकरण प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्टीकृत ‘राष्ट्रिय प्रांगारिक कृषि मेला’ गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए।

२०६२ सालमा पहिलोपटक कृषि मेला गरेको संघले त्यसयता नियमित रूपमा विशिष्टीकृत कृषि मेला सञ्चालन गर्दै आएको छ। संघले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि विशिष्टीकरण मेलाको रूपमा ०६२ सालदेखि ११ पटक कृषि मेला गरिसकेको छ।

कृषि प्रविधिको प्रयोग, प्रांगारिक कृषिमा व्यावसायिक विकास, कृषिमा लगानी आकर्षण गरी युवा सहभागिता तथा प्रांगारिक उत्पादनमा उपभोक्ताको आकर्षण बढाउनको लागि पनि योपटक राष्ट्रियस्तरको प्रांगारिक कृषि मेला गर्न लागिएको अध्यक्ष अर्यालले बताए।

संघले यस क्षेत्रको आर्थिक विकासका लागि उद्योग वाणिज्य, कृषि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न प्रकारका प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गर्दै आएको बताउँदै उनले विगतको मेलाले कृषिको व्यावसायिक विकासमा सहयोग पुगेको दाबी गरे।

कृषिको आधुनिकीकरण तथा व्यावसायीकरणमा टेवा पुग्ने, कृषिमा आधारित उद्योगहरूको बजार विकास, उपभोक्तामाझ स्थानीय कृषि उत्पादनको प्रचार–प्रसार, बजार पहिचान, आयात प्रतिस्थापन तथा निर्यात सम्भावनाको पहिचान, रैथाने तथा प्रांगारिक वस्तुहरूको महत्त्व तथा बजार विस्तारमा यो मेलाले भूमिका खेल्ने संघका महासचिव मुक्ति अधिकारी बताउँछन्।

कृषि उत्पादन, प्रविधि, माछा तथा पशुपंछीसमेत गरी बढीमा १५० स्टल सहभागी गराउने र मेलामा कृषि उत्पादनमा आधारित फुड फेस्टिभल पनि गरिने उनले जानकारी दिए।
 

ad
ad