१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:११:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दुर्व्यसनी बढेपछि सुधार केन्द्र सञ्चालन गर्दै प्रहरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:११:oo

लागुऔषध मुद्दामा चार महिनामै तीन सय पक्राउ, दुई सय मुद्दा अदालतमा दर्ता

सुदूरपश्चिममा लागुऔषधका दुर्व्यसनी बर्सेनि बढ्न थालेपछि प्रहरीले धनगढीमा लागुऔषध दुर्व्यसनी सुधार केन्द्र सञ्चालन गर्न लागेको छ । मदिरा र लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकाको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको हो ।

दुई सयजना दुर्व्यसनी राख्न सक्ने क्षमता रहेको आसरा सुधार केन्द्र केही दिनमै उद्घाटन गर्ने तयारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्याम चौधरीले जानकारी दिए । प्रहरी महानिरीक्षकबाट सुधार केन्द्रको उद्घाटन गराउने तयारी छ । प्रहरी उपरीक्षक चौधरीका अनुसार दुई सयजना राख्ने क्षमताको पूर्वाधार भए पनि तत्काल करिब ५० जना दुर्व्यसनी राखेर राखेर सुधार केन्द्र सुरुवात गरिनेछ । ‘संरचना तयारी अवस्थामा छ,’ चौधरीले भने, ‘उद्घाटनपछि दुर्व्यसनी राख्न सुरु गर्छौँ ।’ 

सुधार केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले प्रदेश प्रहरी कार्यालयलाई फूलबारीमा एक बिघा १८ कट्ठा जग्गा र भवन उपलब्ध गराएको छ । जग्गा र त्यहाँ बनेका भवन उपमहानगरले प्रदेश प्रहरीलाई २० वर्षका लागि दिने र प्रदेश प्रहरीले त्यहाँ सुधार केन्द्र सञ्चालन गर्ने सहमति दुई पक्षबीच गत १ असोजमा भएको थियो । लागुऔषधको कुलतमा फस्ने युवायुवतीको संख्या बढ्न थालेपछि प्रहरीलाई जग्गा र भवन उपलब्ध गराएर सुधार केन्द्र सञ्चालन गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।

‘दुर्व्यसनीमा फसेका व्यक्ति जो सुध्रिन चाहन्छ, उपचार गरेर सामान्य मान्छेमा फर्कन चाहन्छ, त्यस्ता व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुधार केन्द्र सञ्चालन गर्न लागिएको हो,’ प्रहरी उपरीक्षक चौधरीले भने, ‘कोही व्यक्ति लागुऔषधविना बाँच्न गाह्रो हुने, ‘क्रोनिक’ छ भने त्यसबाट ‘नर्मल’मा फर्काउन उपचार गर्छौँ ।’ दुर्व्यसनीलाई लागुऔषधको कुलत छुटाउन चिकित्सकीय र मानसिक दुवै उपचार गरिने उनले बताए ।

सुधार केन्द्रमा भर्ना हुने दुर्व्यसनीलाई औषधि उपचारसँगै मनोपरामर्श र ध्यान, योगहरू गराइने प्रहरीले जनाएको छ । दुर्व्यसनीलाई चार महिनादेखि आवश्यकताअनुसार त्योभन्दा बढी समय सुधार केन्द्रमा राखिने प्रहरी उपरीक्षक चौधरीले बताए । जुनसुकै प्रकारको लागुऔषध र मदिराको कुलतमा फसेका व्यक्तिलाई उनीहरूका आफन्तको आग्रहअनुसार भर्ना गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

केन्द्रमा रहँदासम्म उपचारसँगै मानसिक रोग विशेषज्ञले उनीहरूका आनीबानीको नियमित निगरानी गर्ने र कुलतमुक्त भएपछि घर पठाइने उनले बताए । ‘व्यवहारको नियमित निगरानीबाट कुलतमुक्त भएको यकिन भयो भने घर पठाउँछौँ,’ चौधरीले भने, ‘दुर्व्यसनीलाई कुलतमुक्त गरेर असल नागरिकका रूपमा समाजमा पुनस्र्थापना गराउन खोजेका हौँ ।’ खान, बस्न, उपचारलगायत सबै व्यवस्थापनका लागि भर्ना हुन न्यून शुल्क निर्धारण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको तथ्यांक हेर्दा केही वर्षयता सुदूरपश्चिममा लागुऔषधको जालो विकराल रूपमा फैलँदै गएको देखिन्छ । यहाँ अदालतमा दर्ता हुने लागुऔषधसम्बन्धी मुद्दा र लागुऔषधसहित पक्राउ पर्ने व्यक्तिको संख्या बर्सेनि तीव्र गतिमा बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भरतबहादुर बोहराले पाँच वर्षयताका लागुऔषधसम्बन्धी मुद्दा र पक्राउ परेकाको तथ्यांकको विश्लेषणका आधारमा सुधार केन्द्र आवश्यक रहेको निष्कर्षमा प्रहरी पुगेको बताए । यद्यपि लागुऔषध मुद्दामा पक्राउ परेकाहरू भने कानुनी कारबाहीको दायरामा जाने उनले बताए । ‘हामीले पक्राउ गरेका र मुद्दा चलाएकामध्ये धेरैजसो लागुऔषध कारोबारी हुन्, प्रयोगकर्ता समाजमा छन्,’ डिआइजी बोहराले भने, ‘सुधार केन्द्रमार्फत आवश्यक उपचार, काउन्सिलिङ गरेर कुलतमा फसेकालाई सुधार गरेर पहिलेकै जीवनमा फर्काउन खोज्दै छौँ ।’ लागुऔषध मुद्दामा पक्राउ परेकाहरू कैदमुक्त भएपछि भने सुधार केन्द्रमा राख्न सकिने प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका नौ जिल्लामा गत वर्ष मात्र लागुऔषधसम्बन्धी पाँच सय ४० वटा मुद्दा अदालतमा दर्ता भएका छन् । ती मुद्दामा आठ सय ६० जना पक्राउ परेका प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । जसमध्ये ६६ जना महिला छन् । साउनदेखि गत १० मंसिरसम्म लागुऔषध मुद्दामा प्रदेशभरि तीन सय पाँचजना पक्राउ परेका र दुई सय दुईवटा मुद्दा अदालतमा दर्ता भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

‘पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा लागुऔषध तीव्र रूपमा फैलिएको देखिन्छ । लागुऔषधका मुद्दामा १६ देखि २५ वर्ष उमेर समूहका युवाहरू बढी छन्,’ प्रहरी उपरीक्षक चौधरीले भने, ‘लागुऔषधका दुर्व्यसनी फैलिँदै जाँदा यसले शान्ति, समृद्धि र विकासलाई असर गरेको छ ।’ प्रदेश प्रहरी कार्यालयका अनुसार यहाँका कारागारमा रहेका कैदीबन्दीमध्ये आधा लागुऔषधसम्बन्धी मुद्दाका छन् । 

समाजमा हुने धेरैजसो चोरी, हिंसा, झगडा, सवारी दुर्घटना, बलात्कार, हत्याजस्ता जघन्य अपराधमा लागुऔषध प्रयोगकर्ताको संलग्नता पाइने गरेको प्रदेश प्रहरी प्रमुख बोहराले बताए । प्रदेशका लागुऔषधका अधिकांश मुद्दा कैलाली, कञ्चनपुरका छन् । खुला सिमानाका कारण सीमावर्ती भारतीय बजारबाट लुकीछिपी लागुऔषध ल्याइने गरिन्छ । चरेसबाहेक सबै लागुऔषध भारतबाट आउने गरेको प्रहरीले जनाएको छ ।
 

ad
ad