१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रास्वपाको वडा अधिवेशन आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:१७:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ। रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो। 

सातै प्रदेशका एक-एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। ‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ। औपचारिक रूपमा अधिवेशन आजदेखि सुरु भएको छ,’ उनले भने, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ। हामीले निरन्तर रूपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ।’ 
    
रास्वपाले भरतपुर महानगरपालिका– ११, जितपुर-सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगंगा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दै छ। सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदै छन्। पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, संगठन विभागका सचिव शंकर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरू विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन्।
    
‘जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ। यसलाई स्थानीय तहसम्म पुर्‍याउने मुख्य एजेन्डा हो,’ प्रमुख सचेतक परियारले भने। 

संगठन विभागका सचिव शंकर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए। उनले भने, ‘११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ। चारजनामध्ये पनि एकजना अनिवार्य रूपमा दलित महिलाको व्यवस्था गरिएको छ। छजना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।’

ad
ad