१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तिवारी यादव वीरगन्ज
२०८० मङ्सिर २७ बुधबार १०:५१:००
Read Time : > 1 मिनेट
समाचार

कार्यकक्षको विषयमा वीरगन्ज महानगर प्रमुख र उपप्रमुख पक्षबीच विवाद

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २७ बुधबार १०:५१:००

वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यकक्षको विषयलाई लिएर भएको विवादले मंगलबार दिनभर स्थिति तनावग्रस्त बन्यो । मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्षबीच विवाद भएपछि महानगर कार्यालय दिनभर तनावग्रस्त बनेको हो । महानगरपालिका कार्यालयमा दुवै पक्षका व्यक्तिहरू ठूलो संख्यामा पुगेपछि त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

नगर प्रमुख सिंह नयाँ भवन बनाएर कार्यकक्षमा सरेका छन् । उनको पुरानो कार्यकक्षमा तीन दिनअगाडि प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई सरेका थिए । नगर प्रमुख सिंहले प्रशासकीय अधिकृत बस्दै आएको पुरानो कार्यकक्षमा पञ्जीकरण शाखा राख्ने तयारी गरेपछि विवाद भएको हो । जसमा उपमेयर आलमले आफ्नो निजी सचिवालय बनाउन अडान लिएसँगै विवाद सिर्जना भएको हो ।

महानगर प्रमुख सिंह जनता समाजवादी पार्टी र उपप्रमुख आलम कांग्रेसबाट निर्वाचित भएका हुन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेस र जसपाको गठबन्धनबाट सिंह र आलम निर्वाचित भएका थिए । पछिल्लो समय नगर प्रमुख र उपप्रमुखबीच बजेट विनियोजनलगायत कारण सम्बन्ध चिसिएको छ । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले महानगर प्रमुखनिकट रहन खोज्ने, उपप्रमुखको कुरा नसुन्ने भएकाले विवाद सुरु भएको कर्मचारीको भनाइ छ । 

उपप्रमुख आलमले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष विनानिर्णय, विनाजानकारी एक्कासि सरेकाले विवाद भएको बताए । उनले मेयर सिंह मनोमानी तरिकाले अगाडि बढे आफूहरूलाई सह्य नहुने बताए । गुन्डागर्दी पारामा मेयर पक्षका व्यक्तिले अधिकृत भट्टराईलाई भेट्न खोज्दा रोक्न खोजेको र अवस्था तनावपूर्ण बनेको उनको भनाइ छ ।

उपमेयर आलम पक्षका केही व्यक्तिले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई गाली गलौज गरेको भन्दै महानगरका कर्मचारीले मेयर सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तह कर्मचारी संघ वीरगन्ज महानगर इकाइ समितिका अध्यक्ष मुकेश गुप्ता नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले कार्यकक्षकै विषयलाई लिएर भएको विवाद कार्यपालिका बैठकबाट समाधान गरिने जानकारी दिए ।