१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २० बिहीबार १८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करको नाममा सम्झौताविपरीत मनपरी पैसा असुल्दै ठेकेदार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o१:oo

वीरगन्ज महानगरपालिकाले लगाएको विभिन्न करको नाममा ठेकेदारले सम्झौताविपरीत मनपरी पैसा असुलेको गाडीचालकहरूले गुनासो गरेका छन्। महानगरपालिकाले लगाएको सवारी करको नाममा ठेकेदारले वीरगन्ज भन्सार विन्दुबाट परवानीपुरसम्म मालबाहक सवारीबाट सम्झौताविपरीत रकम बुझाउनुपरेको चालकहरूले गुनासो गरेका हुन्।

वीरगन्जको सुक्खा बन्दरगाह र आइसिपी भन्सारबाट दैनिक करिब ३ सय भारतीय नम्बरका मालबाहक सवारी आउने गरेका छन्। पालिकाले पहिले नै ठेक्का लगाएपछि ठेकेदारले सम्झौताविपरीत कर भन्दै मनपरी पैसा असुलेको चालक आदेश यादवले बताए। करको नाममा अवैध रकम उठाउँदा त्यसको विरोधमा पटक-पटक सवारीचालकहरूले सवारीसाधन रोकेर विरोध गर्दै आए पनि नरोकिएको उनको गुनासो छ।

वीरगन्ज भन्सारबाट पथलैयास्थित उद्योगसम्म वस्तु लोड गर्न वा अनलोड गर्न पुग्दा विभिन्न ढाँटहरूमा भारतीय रुपैयाँ बुझाउनुपरेको डब्लु बी ५१ ए १५०४ नम्बरको भारतीय गाडीका चालक हरिओम प्रसादले बताए। वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षमा कवाडी कर र सवारी कर संकलनका लागि ठेक्का लगाएको छ। मालबाहक र खाली सवारीसाधनले समेत ठेकेदारलाई कर बुझाउने गरेका छन्।

अर्का चालक हरि साहले खाली गाडीबाट समेत कबाडी करबापत साढे ३ सय भारु लिने गरेको जिकिर गरे। ‘पैसा नदिए गाडी रोकिदिन्छन्, गाली गलौज गर्छन्,’ उनले भने। पैसा तिरेपछि पाइने रसिदमा नेपाली रुपैयाँ लेखिए पनि ठेकेदारका कर्मचारीले भारतीय रुपैयाँको हिसाबले पैसा असुल्ने गरेको उनले बताए।

पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले अवैध कर असुल्ने कार्यको बारेमा जानकारी लिने बताए। अवैध रकम उठाउने ठेकेदारमाथि कानुनी कारबाही अघि बढाउने उनको भनाइ छ।

विभिन्न ढाँटमा मनोमानी रकम असुली हुँदै
ठेकेदारका कर्मचारीले चिप्स, टिभी, फ्रिज, मोटर पार्टस् बोकेका सवारीसाधनबाट समेत भन्सार गेट अलौ, जगरनाथपुरको गण्डक, चण्डाल चोक बहुबरी र परवानीपुर चोकमा राखेको ढाँटमा जबर्जस्ती कवाडी कर संकलन गरेको एक व्यवसायीले बताए। पैसा दिन नमान्दा चालक र सहचालकसँग दुर्व्यवहारसमेत हुने गरेको उनले बताए।

पालिकाको क्षेत्रभित्र उत्पत्ति, संकलन तथा व्यावसायिक उपयोग र कारोबार हुने जडीबुटी, कबाडी तथा जीवजन्तु कर असुलीका लागि ठेक्का लगाइएको छ। करको दरसहित विभिन्न २३ वटा वस्तुमा मात्र कबाडी कर लिन पाउने ठेकेदार कम्पनीसँग सम्झौता भए पनि त्यसविपरीत जबर्जस्ती कर संकलन भइरहेको छ।

जडीबुटी, सिसा, बोतल, स्क्रेप, पुरानो फलाम तथा स्टिल, टायर ट्युब, पुरानो कागज, जुट, प्लास्टिकजन्य वस्तु, भुस, पराल, छाला, जलेको मोबिल, काम नलाग्ने मेसिनरी औजार, इँटा, हाड, पिना, जिंकलगायत विभिन्न २३ वटा वस्तुमा कर लिन सक्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ।

ती वस्तुमा प्रतिकेजी, प्रतिक्विन्टल, प्रतिट्रक, प्रतिक्युफिटमा कर निर्धारण गरिएको छ। तर, ठेकेदारले कर संकलन गर्न खटाएका कर्मचारीले पालिकाले निर्धारण गरेको वस्तुबाहेकका सवारीसाधन र खाली कन्टेनरसँग पनि जबर्जस्ती कर असुल गरिरहेका छन्।

वीरगन्ज महानगरपालिकाको राजस्व तथा यान्त्रिक महाशाखाका प्रमुख मनोज कर्णले ठेकेदारले सम्झौताविपरीत मनोमानी ढंगले कर असुल्दै आएको आफूले मौखिक जानकारी पाएको बताए। उनले सम्झौताविपरीत करको रकम असुल्दै आएको ठेकेदारविरुद्ध लिखित उजुरी दिन पीडितलाई आह्वान गरेका छन्।

ठेकेदार कम्पनी आरपिए कन्स्ट्रक्सनका सञ्चालकलाई यसबारेमा जानकारी लिन पटक-पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन्।

ad
ad