मुसिकोट नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न, ओलीले गरे उद्घाटन

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

बिहीबारबाट जनताको सेवा नवनिर्मित प्रशासकीय भवनबाट हुने

गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ ।  एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुसिकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ को सन्दर्भमा गुल्मीको वामी आएका अध्यक्ष ओलीले नगरको प्रमुख प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै जनमैत्री काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।  करिब सात वर्ष भाडाको घरबाट सेवाप्रवाह गरेको नगरले अहिले लिफ्टसहितको अत्याधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ ।

नगरको भवन नहुँदा वार्षिक नौ लाख ५८ हजार आठ सय भाडामा खर्च हुने गरेको थियो । अहिले १८ रोपनी १४ आना क्षेत्रफलमा चारतले भवन बनेको छ । जसमा दुईवटा मिटिङ हल, एउटा सेमिनार हल, ३९ कोठा, ठूलो पार्किङ क्षेत्रसहितको प्रमुख प्रशासकीय भवन निर्माण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

भवन निर्माणका लागि १५ करोड ३० लाख ६५ हजार आठ सय पाँच रुपैयाँ लागत अनुमान गरिएको थियो । जसमा आठ करोड ४८ लाख ११ हजार चार सय २० रुपैयाँमा २० पुस ०७७ मा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माणको सम्झौता गरेको कुँवरले बताए । पहिलो सम्झौताअनुसार १७ पुस ०७९ मा काम सकिनुपर्ने भए पनि ३० पुस ०८० सम्म म्याद थप भएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कुँवरका अनुसार भवन निर्माणको लागि स्थानीय लोकबहादुर पन्थले तीन रोपनी १२ आना, हरिलाल सापकोटा र सीता सापकोटाले तीन रोपनी ६ आना, टीकाराम सापकोटाले दुई रोपनी, नरबहादुर काफ्लेले दुई रोपनी र शोभाखर सापकोटाले पाँच आना तीन पैसा गरेर ११ रोपनी १५ आना दुई पैसा दुई दाम जग्गा प्राप्त भएको छ ।

भवनको लागि ६ रोपनी १५ आना जग्गा खरिद गरिएको छ । जग्गा खरिदका लागि नगरले ९० लाख २६ हजार रुपैयाँ खर्च गरेको कुँवरले बताए । कार्यक्रममा निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र जग्गादाताहरूलाई सम्मान गरिएको थियो ।

नगरप्रमुख जीवन खरेलले बिहीबारबाट नै जनताको सेवा नयाँ प्रशासकीय भवनबाट हुने जानकारी दिए । उनले विभिन्न तहबाट भवन निर्माणमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे ।

सुझावित समाचार