१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २१ बिहीबार ०९:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुसिकोट नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न, ओलीले गरे उद्घाटन

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २१ बिहीबार ०९:१८:००

बिहीबारबाट जनताको सेवा नवनिर्मित प्रशासकीय भवनबाट हुने

गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ ।  एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुसिकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ को सन्दर्भमा गुल्मीको वामी आएका अध्यक्ष ओलीले नगरको प्रमुख प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै जनमैत्री काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।  करिब सात वर्ष भाडाको घरबाट सेवाप्रवाह गरेको नगरले अहिले लिफ्टसहितको अत्याधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ ।

नगरको भवन नहुँदा वार्षिक नौ लाख ५८ हजार आठ सय भाडामा खर्च हुने गरेको थियो । अहिले १८ रोपनी १४ आना क्षेत्रफलमा चारतले भवन बनेको छ । जसमा दुईवटा मिटिङ हल, एउटा सेमिनार हल, ३९ कोठा, ठूलो पार्किङ क्षेत्रसहितको प्रमुख प्रशासकीय भवन निर्माण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

भवन निर्माणका लागि १५ करोड ३० लाख ६५ हजार आठ सय पाँच रुपैयाँ लागत अनुमान गरिएको थियो । जसमा आठ करोड ४८ लाख ११ हजार चार सय २० रुपैयाँमा २० पुस ०७७ मा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माणको सम्झौता गरेको कुँवरले बताए । पहिलो सम्झौताअनुसार १७ पुस ०७९ मा काम सकिनुपर्ने भए पनि ३० पुस ०८० सम्म म्याद थप भएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कुँवरका अनुसार भवन निर्माणको लागि स्थानीय लोकबहादुर पन्थले तीन रोपनी १२ आना, हरिलाल सापकोटा र सीता सापकोटाले तीन रोपनी ६ आना, टीकाराम सापकोटाले दुई रोपनी, नरबहादुर काफ्लेले दुई रोपनी र शोभाखर सापकोटाले पाँच आना तीन पैसा गरेर ११ रोपनी १५ आना दुई पैसा दुई दाम जग्गा प्राप्त भएको छ ।

भवनको लागि ६ रोपनी १५ आना जग्गा खरिद गरिएको छ । जग्गा खरिदका लागि नगरले ९० लाख २६ हजार रुपैयाँ खर्च गरेको कुँवरले बताए । कार्यक्रममा निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र जग्गादाताहरूलाई सम्मान गरिएको थियो ।

नगरप्रमुख जीवन खरेलले बिहीबारबाट नै जनताको सेवा नयाँ प्रशासकीय भवनबाट हुने जानकारी दिए । उनले विभिन्न तहबाट भवन निर्माणमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे ।