१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नवीकरणीय ऊर्जा न्यूनतम खपतमा भारतको नयाँ व्यवस्था

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:३५:oo

नेपालको जलविद्युतले राम्रो बजार पाउन सक्ने

भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ ।भारतको विद्युत् मन्त्रालयले गत ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत् वितरित र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ । 

भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनीहरू र खरिदकर्ताका लागि अनिवार्य जलविद्युत् खरिद (एचपिओ)को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्लाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्न पाउने व्यवस्था गरेको हो । यसअघि यस्तो एचपिओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्मा मात्र व्यवस्था थियो । 

भारतको नयाँ व्यवस्थाअनुसार नवीकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४–२५ मा २९.९१ प्रतिशत र २०२९–३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य भेट्नुपर्नेछ । यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४–२५ मा ०.३८ र सन् २०२९–३० सम्ममा बढाएर १.३३ प्रतिशतको लक्ष्य भेट्नुपर्नेछ । यसका लागि ३१ मार्च २०२४ पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपिओको हिस्सा पु¥याउनैपर्ने र नपु¥याउने वितरण कम्पनीहरू तथा विद्युत् खरिदकर्तालाई जरिवाना हुने व्यवस्था गरिएको छ ।

अन्य नवीकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ अघि सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरूबाट खरिद गरिएको विद्युत्लाई समेत गणना गर्न सकिने व्यवस्था छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत् खरिदको नयाँ व्यवस्था व्यावहारिक रूपमा लागू भए नेपाल, भारत र भुटानलाई फाइदा पुग्ने बताउनुभयो ।

‘आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट खरिद गरिएको विद्युत्लाई पनि एचपिओमा समावेशको व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएकोमा अहिले यसलाई समेटिएको छ, यसले भारतका विद्युत् वितरण कम्पनीहरू तथा खरिदकर्तालाई जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद गर्न सजिलो हुनेछ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यो व्यवस्था व्यावहारिक रूपमा कार्यान्वयन भएमा नेपालको जलविद्युत्ले भारतमा राम्रो बजार पाउनेछ ।’

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमले एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी ६ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।
 

ad
ad