१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

फिर्के खोला अतिक्रमण गरी बनेका संरचना ३५ दिनभित्र हटाउन सूचना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१३:oo

पोखराका विभिन्न भाग भएर बग्ने फिर्के खोला अतिक्रमण गरी खोलाघरभित्र निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले गत ३ साउनदेखि खोलाघर छुट्याउन सीमांकन र रेखांकनको काम सुरु गरेको थियो । महानगरका सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा रहेको ४० जनाको टोलीले ३२ दिन लगाएर सीमांकन र रेखांकनको काम सम्पन्न गरेको थियो । टोलीले दिएको प्राविधिक प्रतिवेदनपछि महानगरले खोलाघरभित्र निर्माण गरिएका अस्थायी र स्थायी संरचना ३५ दिनभित्र हटाउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । 

महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले खोलाघरभित्र रहेका संरचना तोकिएको समयमा सम्बन्धित व्यक्तिले हटाउनुपर्ने बताए । यदि ३५ दिनभित्र संरचनाहरू पूर्ण रूपमा नहटाए महानगर आफैँले हटाउने र हटाउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने तिम्सिनाले जानकारी दिए । 

पोखरा–१८ सराङकोटस्थित अँधेरीकुनाबाट सुरु भएको फिर्के खेला महानगरका विभिन्न आठवटा वडाको बस्ती छिचोल्दै पोखरा ६ र १७ नम्बर वडामा पर्ने फेवातालको ड्यामसाइडनजिकैको गाईघाटबाट सीधै तालमा मिसिने गर्दछ । वडा १८ बाट सुरु भएको फिर्के खोला २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालसम्म पुगेको छ । अँधेरीकुनाबाट लगभग सात किलोमिटरअघि गएपछि मालपोत कार्यालय कास्कीभन्दा केही माथि गैरीखेत भन्ने स्थानमा लगभग दुई किलोमिटर लामो बुलौदी खोलासमेत फिर्केमा मिसिन आएको छ ।

सीमांकनका क्रममा खोलाघरभित्र १६० वटा भौतिक संरचना निर्माण भएको भेटिएको थियो । तीमध्ये संस्थागत अर्थात् सरकारी, सामाजिक संघसंस्था, आमा समूह, समाजघरलगायतका गरी २८ र व्यक्तिगत १३२ वटा छन् । संस्थागततर्फ स्थायी १८ र अस्थायी १० वटा छन् । व्यक्तिगतमध्ये ९७ वटा कच्ची र ३५ वटा पक्की संरचना छन् । ती संरचनामध्ये पाँचदेखि ८० प्रतिशतसम्म खोलाघरभित्र रहेका टोली प्रमुख पौडेलले जानकारी दिए । निर्माण भएका संरचनामध्ये शतप्रतिशत खोलाघरभित्र नभेटिएको उनले जानकारी दिए । खोलाको सिमाना अतिक्रमणसँगै खोलाको वरिपरि निर्माण गरिएका घरको फोहोरसँगै शौचालय, नाला र फोहोर पानी फाल्ने पाइपसमेत सीधै खोलामा मिसाइएको उनको भनाइ छ । 

करिब नौ किलोमिटर लामो खोलाको चौडाइ विभिन्न स्थानमा फरक–फरक रहेको छ । खोला कतै चार मिटर र कतै ४० मिटरसम्म फैलिएको टोली प्रमुख पौडेलले जानकारी दिए । ०३२ को नापीअनुसार खोलाघर छुट्याउने काम भएको उनले बताए । खोलाको कुल लम्बाइमध्ये करिब ६ किलोमिटर मुख्य सहरी भाग हुँदै बगेको छ । सीमांकन र रेखांकनका क्रममा ५८४ स्थानमा पिलर गाडिएको छ । जमिनको बनावटसँगै संरचना बनेको स्थानमा पिलर गाड्न सम्भव नभएपछि २३९ स्थानमा चिह्न लगाइएको छ ।

ad
ad