१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २३ आइतबार १७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा दिनभर भक्तजनको भिड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३o:oo

दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि साँझसम्म भिड लागेको छ । दसैँको आठौँ दिन अर्थात् महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात अर्थात् घटस्थापनादेखि नै नवदुर्गाको पूजा–आराधना सुरु हुने भए पनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा–आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ ।

राजधानीका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा आज दिनभर भक्तजनको भिड लाग्यो । यी मन्दिरमा झकिझकाउ बनाएर सिँगारिनुका साथ बेलुकी झिलिमिली बत्ती सजाइएको छ ।  

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मंगल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षकद्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ । यस मन्दिरमा आज बिहानैदेखि भक्तजन पूजा–आराधना एवं दर्शनका लागि लाममा बसेका थिए ।

नवरात्रका अवसरमा कम्तीमा पनि नौवटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाउने गर्छन्। कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दै छन् ।

यसैगरी उपत्यकाबाहिरका देवी मन्दिरमा पनि भक्तजनको भिड बढेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भिड बढेको जनाइएको छ ।  

शारदीय नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजा–आराधना गरिन्छ ।

नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा–आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।

दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रूपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका पनि लगाउँछन् ।     
     
      
     
 

ad
ad