१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका महोत्तरी
२o८१ बैशाख २४ सोमबार १४:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पितृ विसर्जन गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:१o:oo

असोज कृष्णपक्षको अन्तिम दिन आज दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदै छ। दसैँ पर्व सुरु हुनअघि पितृहरू (दिवंगत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो। पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार महोत्तरीका धार्मिकस्थल र पवित्र जलाशय एकाबिहानै भरिभराउ छन्।

मैथिल परम्परामा पितृपक्षभरि धार्मिक महत्त्वका नदी र तलाउमा पवित्र स्नान गरेर पितृतर्पण तथा पिण्ड दिइने परम्परा छ। यसै परम्परालाई थाम्दै आज हिन्दु - मैथिल धार्मिक महत्त्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन्। 

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, बरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृतर्पण दिने भरिभराउ छन्। 

यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भंगाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिवास नगरपालिकाभित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जंघा एवं बाँके नदी किनारमा पितृपक्ष विसर्जन गर्ने श्रद्धालुहरूको जमघट देखिएको छ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल-हिन्दु जनविश्वास छ। यजमान (श्राद्ध गर्ने कर्ता) को भिड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण) लाई पनि भ्याइनभ्याई परेको छ। कर्तापिच्छे गोत्र, नाउँ र पितृहरूको फरक-फरक संकल्प पढ्नु र कर्तालाई बताइरहनुपरेको पुरोहित बताउँछन्।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ। 

पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएको हुँदा पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने गरेको छ। यसैले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डी ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउँछन्।

दसैैँ, तिहार र छठजस्ता महान् चाडबाड अघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दु परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन्। 

वर्षका अन्य वेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्बिघ्न सम्पन्न होस् भन्ने गरिने कामना जस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुन सक्ने अर्का कर्मकाण्डी ब्राह्मण बर्दिबास–१ का भागवत काफ्लेको भनाइ छ।

हिन्दु परम्परामा पितृपक्षभरि पितृहरू स्वर्गलोकबाट विचरण गर्न मर्त्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ। पितृपक्ष विसर्जनसँगै अब वडादसैँ पर्वको चहलपहल सुरु भएको छ। 

ad
ad