
सामाजिक अभियन्ता तथा लेखक दीपेन्द्रराज गिरीद्वारा लिखित ‘विधाता–२’, ‘विधाता–३’ र ‘विधाता–४’ पुस्तक विमोचन गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुस्तक विमोचन गरेका हुन् ।
झन्डै दुई दशकदेखि स्पाइनल इन्जुरीका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका गिरी लेखन र सामाजिक अभियानमा सक्रिय छन् । शनिबारै ‘दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उद्घाटन गरियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले शारीरिक रूपमा अशक्त भएर पनि निरन्तर आफ्नो कर्ममा लागेका गिरी समाजका लागि उदाहरणीय पात्र रहेको बताए । ‘शारीरिक रूपमा मजबुत भएकाहरू काम गर्न अल्छी मान्छन्, तर कठिन शारीरिक अवस्थाबीच उहाँको लगनशीलताले सबैलाई पाठ सिकाएको छ,’ उनले भने ।
ओलीले पछिल्लो केही दशकयताका राजनीतिक, सामाजिक दस्तावेज संगृहित पुस्तक निकै जानकारीमूलक रहेको बताए । त्यस्तै, स्पाइनल समस्या भोगिरहेकालाई सहायता गर्न र यसबारे जनचेतना फैलाउन प्रतिष्ठान सुरु गरेकोमा गिरीलाई धन्यवाद दिए ।
त्यस्तै, कार्यक्रममा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले दीपेन्द्रराज गिरीजस्ता पात्रलाई सबैले उत्साह र ऊर्जा दिनुपर्ने बताए ।