मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० भदौ २३ शनिबार २०:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलंगवामा निषेधाज्ञा जारी

Read Time : < 1 मिनेट
२०८० भदौ २३ शनिबार २०:२१:००

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु  जारी गरिएको जानकारी दिए।  

शुक्रबार साँझ मलंगवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो। 

विवादमा ढुंगा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

ढुंगा लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरीसमेत घाइते भएका छन्। 

आज दिउँसो फेरि दुवै पक्षबीच ढुंगा हानाहान हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।  

स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै आज जिल्ला प्रशासन कार्यालय सर्लाही मलंंगवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो। तर, शनिबार बिहानैदेखि सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेको छ। 

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

घटनास्थलमा अहिले उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रदर्शन र ढुंगामुढाका कारण आज बिहानैदेखि मलंगवा बजार क्षेत्रका पसल बन्द छन्। आज बिहानैदेखि यहाँबाट चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन चल्न सकेका छैनन्।