मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
मोहन विष्ट कञ्चनपुर
२०८० भदौ १३ बुधबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

ठेकेदारको लापरबाहीले घटना भएको भन्दै स्थानीय आन्दोलित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० भदौ १३ बुधबार १२:४६:००

कञ्चनपुरस्थित हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सडकको बीचमा रहेको खाल्टोमा परेर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलडाँडीका २२ वर्षीय सुनील सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। बेलडाँडी गाउँपालिका– १ भण्डारी टोलस्थित हुलाकी सडकमा पानी जमेको खाडलमा पर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनालगत्तै प्रहरीले उद्धार गरी उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो। त्यहाँबाट महाकाली अस्पताल रिफर गरिएको र उपचारका क्रममा त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज नरेन्द्र कुँवरले जानकारी दिए। शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमै राखिएको छ।

हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा राजेन्द्र जेभी कम्पनीको लापरबाहीले सार्कीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका छन्। ०७३ सालमा ३० महिनाभित्रै सडक निर्माण गरिसक्ने गरी ठेक्का भए पनि निर्माण कम्पनीले ७० महिना बितिसक्दा पनि सडक निर्माण गरेको छैन। निर्माण कम्पनीले लापरबाही गरेको भन्दै बुधबार बिहानैदेखि स्थानीय युवाले हुलाकी सडक बन्द गराएका छन्।

स्थानीय युवा किरण ठगुन्ना निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडक थप बिग्रिएको र सोही सडकको अवस्थाका कारण दैनिक सामान्यदेखि मृत्युसम्मका दुर्घटना भइरहेको बताउँछन्। दैनिक दुर्घटना हुँदासमेत सम्बन्धित पक्षबाट कसैले चासो नदिएको स्थानीयको आरोप छ ।

स्थानीयले सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेर हुलाकी सडक बन्द गर्नुका साथै पालिका, प्रदेश र संघीय सरकारलाई सडक सुधारमा ध्यान दिन आग्रह गरेका छन्।

बेलडाँडी गाउँपालिकाले निर्माण कम्पनीसँग उक्त खाडलसहित समयमै सडक निर्माणका लागि पहल गरिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता जगबहादुर विष्टले दुर्घटना भएलगत्तै उक्त खाडल पुर्न र समयमै सडक बनाउने विषयमा ध्यानाकर्षण गराएको बताए।