Skip This
कागबेनी बाढीले करिब एक अर्बबराबरको क्षति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Saturday, 27 July, 2024
२o८o भदौ १० आइतबार ११:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कागबेनी बाढीले करिब एक अर्बबराबरको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार ११:५३:oo

गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन्। व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपत् व्यवस्थापन समितिले तयार गरेको तथ्यांकअनुसार बाढीले कागबेनीमा करिब रु. एक अर्बको क्षति पुर्‍याएकोे छ। भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुर्‍याएको थियो। बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्‍याएको छ।

गाउँपालिकाको कृषि शाखाको तथ्यांकअनुसार कागबेनीवासी कृषकको करोडभन्दा बढीको स्याउ, ओखर र नासपातीलगायतका फलफूलका बोटमा क्षति पुगेको छ। बाढीले कृषकको ११ रोपनीभन्दा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्‍याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए। 

उनका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ। स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ।

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए। 

उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ।  कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ। करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिएर 

गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ। उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ। गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उनी बताउँछन्। 

बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा करिब रु. एक करोड बढीको क्षति भएको धामीको भनाइ छ।

उनले भने, ‘यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति पुर्‍याएको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौँ, कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नासपातीको बोट बगाएको छ, सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ।’

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ। पशुचौपाया बगाउँदा करिब रु. ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए। बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए। यसबाट करिब रु. ५० लाख बढीको नोक्सानी भएको उनको भनाइ छ।

बाढीले नगद, सामान र संरचनामा मात्र रु. ८१ करोड ८३ लाख २५ क्षति गरेको छ। सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी रु. २१ करोड दुई लाखबराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको  तथ्यांकमा उल्लेख छ। पचास ५० घरमा रु. ५२ करोड ८९ लाख ७५ हजार मूल्यबराबरको क्षति भएको छ भने २२ वटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको थियो।