१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण २४ बुधबार ११:५५:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वर्षामा पर्यटन : झरनामा आन्तरिक पर्यटकको आकर्षण 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण २४ बुधबार ११:५५:००

वर्षातकाे समयमा हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको संख्या ठूलो छ । नेपालका पहाडी जिल्लामा निकै मनमोहक, आकर्षक र सुन्दर झरनाहरू छन् । कतिपय झरनामा घाम लागेको समय इन्द्रेणी देखिन्छ । यसले पर्यटकलाई झनै लोभ्याउँछ । भर्खरै मात्र डिस्कभरी च्यानलले आफ्नो एक रिपोर्टमा नेपालका झरनाहरूको वर्णन गर्दै लेखेको थियो, ‘जहाँ पहाड हुन्छन्, त्यहाँ झरना हुन्छ । नेपालमा अग्ला र मनमोहक झरनाहरू छन् ।’ डिस्कभरीको उक्त रिपोर्टमा पचाल झरना, ह्यातुङ, रुप्सेलगायत झरनाको चर्चा गरिएको थियो । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने वर्षामा झरनासँगै हरियाली अवलोकन गर्न पर्यटकहरू लालायित हुने गरेको बताउँछन् । ‘नेपाल झरनैझरनाको देश हो । अग्ला भिर–पहराबाट खस्ने झरनाले जोसुकैलाई लोभ्याउँछ । अहिलेको समय झरना हेर्नका लागि उत्कृष्ट समय हो ।’ 

अल नेपाल एक्सकर्सनका प्रबन्ध निर्देशक दीपेन्द्र थापा प्रकृतिसँग समय बिताउँदा फ्रेस महसुस हुने भएकाले पर्यटकहरू झरना हेर्नका लागि लालायित हुने बताउँछन् । ‘युवायुवती फोटो खिच्ने, टिकटक बनाएर रमाउने गर्छन् । काठमाडौंनजिकमा पनि प्रशस्तै झरना छन् । एकै दिनमा घुमेर फर्किन सकिन्छ,’ उनले भने । तर, प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान नदिँदा कतिपय झरना ओझेलमा परेको उनले बताए । झरनाको चिसो पानीमा नुहाउने सोख धेरैलाई हुन्छ । 

नेपालका केही चर्चित झरना

पचाल झरना : कालिकोटमा रहेको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना हो । यो तीन सय ८१ मिटर अग्लो छ । विश्वकै अग्ला ३० झरनामध्ये यो एक हो । 

ह्यातुङ झरना : पचाल झरनाको नाप हुनुअघिसम्म यस झरनालाई नेपालकै सबैभन्दा अग्लो झरना मानिएको थियो । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा रहेको यो झरना तीन सय ६५ मिटर लामो छ । 

तीनधारे झरना : काभ्रेपलाञ्चोकमा पर्ने यो झरना अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । दक्षिण भारतीय फिल्म बाहुबलीमा देखाइएको झरनासँग मिल्दोजुल्दो भएकाले यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बाहुबली झरना नाम दिएका छन् । 

भाङ्गे झरना : रसुवामा पर्ने यो झरनालाई पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बाहुबली झरना भनेर चर्चामा ल्याएका छन् । त्रिशूली, स्याफ्रुबँेसी हुँदै यहाँ पुग्न सकिन्छ । 

पोकली झरना : ओखलढुंगाको पोकलीमा रहेको यो झरना झन्डै एक सय ३० मिटर अग्लो छ । लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरनानजिकै गौरी वन पर्छ । 

छहरा झरना : डोटीको छहरा झरना सुदूरपश्चिमको चर्चित पर्यटकीय गन्तव्य हो । यहाँ कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउने गरेका छन् । यस क्षेत्रमा प्याराग्लाइडिङ, क्यानोइङलगायत साहसिक गतिविधिसमेत सञ्चालन हुने गर्छ । 

रुप्से झरना : म्याग्दीमा रहेको यो झरना नेपालको चर्चित गन्तव्यमध्ये एक हो । पोखराबाट एक सय १० किलोमिटर दूरीमा यहाँ पुगिन्छ बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरनाबाट जोमसोम झन्डै ४० किलोमिटर पर छ । 

काठमाडौं आसपासका चर्चित झरना
काठमाडौंमा झोर, सुन्दरीजल, झक्तपुरको मानपोखरी, ललितपुरको सिम्बा झरना पर्यटकहरूको आकर्षणको केन्द्र हुन् । मकवानपुरको मोहिनी, नुवाकोटको लखनचुली, लाउके, काभ्रेको तिनधारे, रसुवाको भाङ्गे झरनालगायत गन्तव्यहरू पनि उपत्यकावासी र आपसपासका जिल्लाका पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । 

ख्याल गर्नुपर्ने 

झरनाको छेउमा जाँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ । धेरै उत्साहित भएर मानिसहरू झरनाको नजिकै पुग्छन् र चिप्लिन्छन् । तसर्थ, झरनालाई केही दूरीमा रहेर नियाल्नु राम्रो हुन्छ । झरना देख्दैमा नुहाउन हतारो गर्नुहुँदैन । राम्ररी जानकारी लिएर सुरक्षित ठाउँ पहिचान गरेपछि मात्रै नुहाउन सकिन्छ । स्थानीय सरकारले वाल, रेलिङ आदि लगाउने, झरनामा निश्चित भ्यु पोइन्ट तय गर्ने, कुन ठाउँमा नुहाउन मिल्छ र कुन ठाउँमा मिल्दैन भनेर पर्यटकले बुझ्ने गरी बोर्ड राखिदिने गर्नुपर्छ ।

झरनाको धेरै नजिक जानुहुँदैन । त्यहाँ ढुंगा चिप्लो हुन्छ । जसकारण चिप्लिएर दुर्घटना हुन सक्छ । मानिसहरू खसेर खोलामा पनि पुग्न सक्छन् । एक्लै झरना हेर्न जानु राम्रो हुँदैन । समूहमा जाँदा केही समस्या परे पनि साथीभाइले सहयोग गर्न सक्छन् ।

खोलानजिकै भएका झरनामा जाँदा लाइफ ज्याकेट पनि बोकेर जानु राम्रो हुन्छ । केही कारणले खोलामा फसियो भने पनि बाँच्न सहज हुन्छ । 

झरना भिरमा हुन्छ । त्यही कारण पहिरो पनि आउन सक्छ । यस विषयमा सचेत रहनुपर्छ । स्थानीय निकायले पनि पर्यटकलाई मौसमबारे तथा सम्भावित अवस्थाबारे पूर्वसूचना दिएर पहिल्यै सतर्क गराउनुपर्छ । 

नेपालमा रहेका झरनाहरूको पर्याप्त प्रचार–प्रसार गर्न जरुरी छ । झरनासम्म पुग्ने ठाउँमा राम्रो बाटो बनाउने हो भने पर्यटकको आवागमन अझै बढ्नेछ ।