१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

क्यानोनिङ : डर, साहस अनि रोमाञ्चकता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:४७:oo

वर्षा लागेसँगै चारैतिर हरियाली छाएको छ । खोलानाला, डाँडाकाँडा सबैतिर पानीको मुहान फुटिसकेको छ । पहाडका कुनाकुनामा झरनाहरू देखिन थालेका छन् । यस्तो लाग्छ, प्रकृतिको यो हरियाली मौसम सधैँ कायम रहोस् । तर, मान्छेले चाहँदैमा ऋतु रोकिँदैन । आफ्नै गतिमा ऋतु दौडिरहन्छ ।

यस्तै मौसमको सदुपयोग गर्दै पहाडका कुनाकाप्चामा उर्लिरहेको झरनाको मजा लिन क्यानोनिङ गर्नेहरू यतिवेला निकै सक्रिय छन् । उनीहरू राजधानी आसपासका क्षेत्रहरूमा झरना खोज्दै पुगिरहेका छन् । प्रकृतिको अनुपम बरदानजस्तै लाग्ने हरिया डाँडाहरूका काखतिर पुग्छन् । अनि क्यानोनिङ खेल सुरु गर्छन् । क्यानोनिङमा रमाउन युवाहरूसँगै सबै उमेरका मानिस झरनाको काखमा झुम्मिएका भेटिन्छन् ।

नुवाकोटको ककनी गाउँपालिका– ४ स्थित ९५ मिटरको फुङफुङे झरनामा पनि क्यानोनिङ गर्नेहरूको उस्तै भिड लागिरहन्छ । क्यानोनिङ गर्नेहरू पालो कुरेर बसिरहेका भेटिन्छन् । कम्मरमा डोरी बाँधेर उनीहरू करिब २० मिनेट झरनामा उक्लिन्छन्, ओर्लिन्छन्, रमाउँछन् । झरनामा जानुअघि गाइडले शरीरमा राम्रोसँग डोरी लक गरे कि गरेनन् भनेर सोधी पनि रहन्छन् ।

क्यानोनिङ डोरीको सहारामा झरनामा तुर्लुंग झुन्डिएर भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिँदै खेलिने एक साहसिक खेल हो । यसका लागि झरनाको माथि दह्रो गरी डोरी अड्काइन्छ । गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ । डोरीमा झुन्डिनुअघि डरले आएको पसिना झरनाको चिसो पानीमा निथ्रुक्क भिजेपछि सबै हराउँछ । झरनाको चिप्लो ढुंगामा पानीले ज्यानलाई तलतिर धकेल्छ । तर, डोरीको सहायताले मान्छेलाई त्यहीँ अल्झाइरहन्छ । अलिअलि डर, पानी, उचाइ सबथोक मिसिएपछि त्यो क्षण निकै यादगार र रोमाञ्चक बन्ने क्यानोनिङप्रेमीहरू बताउँछन् ।

काठमाडौंदेखि करिब २८ किलाेमिटर दूरीमा रहेको ककनी राजधानीनजिकको पर्यटकीय गन्तव्य हो । ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ ।  गत महिना स्थानीयवासीसहित पर्वतीय पर्यटनमा कार्यरत पथप्रदर्शकहरूको २५ जनाको समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम गरेको थियो । नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सहआयोजनामा कार्यक्रम भएको थियो ।

नदीनाला, ताल तलैया, झरना र खोँचहरूले भरिएको नेपालमा यस्तो किसिमको साहसिक तथा रोमाञ्चक खेलहरूको आयोजना बर्सेनि गर्न सकिए पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीहरू बताउँछन् । त्यस्ता स्थानहरूमा व्यापार–व्यवसायको सम्भावना बढी स्थानीय तहले फाइदा पनि लिन सक्ने देखिन्छ । पर्यटन व्यवसायीले काम पाउने, स्थानीय तहको आम्दानी पनि बढ्ने हुँदा सिजनअनुसारका यस्तै अन्य धेरै गन्तव्यहरू खोजी गरिनुपर्ने आवश्यकता देखिन्छ ।

सोही क्यानोनिङमा सहभागी काभ्रेकी टुरिस्ट गाइट पवित्रा तामाङ भन्दै थिइन्, ‘काठमाडौंनजिकै यति राम्रो ठाउँमा क्यानोनिङ गर्न पाइयो । धेरै खुसी लागेको छ । यस्ता अरू ठाउँहरू पनि खोज्न सके राम्रो हुन्छ ।’ कतिपयले क्यानोनिङमा सुरक्षा राम्रो नहुने पनि बताइरहेका छन् । तर, उनी भन्छिन्, ‘गाइडले भनेको निर्देशनहरू राम्रोसँग पालना गर्ने हो भने क्यानोनिङ असुरक्षित छैन ।’

ad
ad