१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उमेरमा ‘किर्ते र भ्रष्टाचार’, बुढ्यौली थुनामा 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२७:oo

५० वर्षको हुँदा ललितानिवासको ११२ रोपनी जग्गा सुवर्णशमशेरको परिवारलाई दिलाउन भूमिका खेलेका धर्मप्रसाद गौतम ८० वर्ष पुग्दा हिरासतमा

बालुवाटारस्थित ललितानिवासको जग्गा सुवर्णशमशेरका परिवारलाई फिर्ता दिने चलखेल सुरु हुँदा धर्मप्रसाद गौतम करिब ५० वर्षका थिए । सरकारले अधिग्रहण गरेको जग्गालाई उनले तत्कालीन मालपोत विभागमा कार्यरत छँदा जफतको गलत व्याख्या गरी एक सय १२ रोपनी फिर्ता गराउन भूमिका खेलेका थिए । ३० वर्षपछि सोही अभियोगमा गौतम प्रहरी हिरासतमा छन् । यतिवेला ८० वर्षको वृद्ध भएका छन् । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को थुनामा रहनेमध्ये उनी सबैभन्दा वृद्ध हुन् । 

गौतम मात्र होइन, यो मुद्दामा थुनामा रहेका २० जनामध्ये अधिकांश बुढ्यौली उमेरका छन् । पद, प्रतिष्ठा र पैसा सबै हुँदा पनि वृद्ध उमेरमा उनीहरू थुनामा छन् । र, सम्भवतः विगतको गल्तीको पश्चात्ताप गर्दै छन् । उमेरका कारण स्वास्थ्य अवस्था कमजोर भएकाले कतिपयलाई त अस्पताल नै भर्ना गरिएको छ । पुरानो मुद्दा भएकाले यसमा संलग्न कतिपय व्यक्तिको मृत्युसमेत भइसकेको छ । 

अहिले ७५ वर्ष पुगेका कलाधर देउजा पनि डिल्लीबजार मालपोतको प्रमुख हुँदा यसमा मुछिएका छन् । निर्णय गरेको करिब तीन दशकपछि सोही कारण अहिले हिरासतमा पुगेका छन् । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि भक्तपुर मालपोतमा अधिकृत रहेका वेला यस प्रकरणमा मुछिएका हुन् । हाल ६९ वर्र्षीय उनी प्रत्यक्ष संलग्न नभए पनि अप्रत्यक्ष रूपमा जग्गा व्यक्तिको नाममा लैजान सहयोग गरेर आर्थिक लाभ लिएको सिआइबीको दाबी छ । श्रीमतीको नाममा उनले त्यहाँको जग्गा बकसमा लिएर पछि बिक्री गरेका थिए ।

हिरासतमै रहेका नेपाल समरजंग कम्पनीका पूर्वप्रममुख लोकहरि घिमिरे ७५ वर्ष पुगेका छन् । उनलाई कम्पनीको जग्गा व्यक्तिलाई दिँदा भूमाफिया समूहसँग मिलेमतो गरेको अभियोग छ । त्यस्तै, पूर्वउपसचिव बालकृष्ण श्रेष्ठ भवन निर्माण सम्भार डिभिजन कार्यालयमा इन्जिनियरका रूपमा कार्यरत हुँदा बालुवाटरस्थित विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा भूमाफियालाई फाइदा हुने गरी भएको निर्णयमा सहभागी थिए । त्यही कारण ६८ वर्षको बुढेसकालमा हिरासतमा पुगेका छन् । 

यो प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ ६८ वर्षका छन् । उनीमाथि सरकारी जग्गा व्यक्तिको बनाउन बिचौलिया समूहमार्फत आर्थिक लगानी गरेको अभियोग छ । ७३ वर्षीय बाबुराजा महर्जनले पशुपति टिकिन्छा गुठीको नक्कली मोही बनेर जग्गा हिनामिनामा सहयोगी भूमिका निर्वाह गरेका थिए । ७१ वर्षीय पूर्वसहसचिव रुद्रबहादुर श्रेष्ठ र ६२ वर्षीय पूर्वनापी सर्वेक्षक ध्रुवबहादुर अर्याल पनि यही प्रकरणमा हिरासतमा छन् । अन्य आरोपी पनि धेरैजसो ६० वर्षभन्दा माथिकै भएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए ।

सिआइबीले गत १२ असारदेखि ललितानिवासको जग्गा हिनामिनाबारे आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । चार चरणमा गरेर एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसमा तीन सय ५० भन्दा धेरै संलग्न रहेकोमा २० जना मात्र थुनामा छन् । पूर्वसचिवसहितका कर्मचारी फरार भइरहेको स्रोत बताउँछ । हिरासतमा भएका अन्यमा समरजंग कम्पनीका पूर्वलेखापाल विनोद पौडेल, पूर्वनासु गोपाल कार्की, पूर्ववडासचिव शिवजी भट्टराई, मालपोतका पूर्वनासु योगराज पौडेल, पूर्वखरिदार नारायणराज मिश्र, पूर्वकर्मचारीद्वय घमानकुमार कार्की र अरुणकुमार श्रेष्ठ, जग्गा खरिदकर्ता केशव तुलाधर तथा नक्कली मोही देवनाराययण महर्जन, सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन रहेका छन् ।

यही प्रकरणमा पक्राउ परेका सिपिका खेतान जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएर तथा नेपाल समरजंग कम्पनीका पूर्वप्रमुख रमेश पोखरेल अदालतले म्याद थप गर्न नमाग्दा रिहा भएका छन् । सचिव कृष्णबहादुर राउतलाई सर्वाेच्चले थुनाबाहिर राखेर अनुसन्धान गर्न भनेपछि छुटेका छन् ।

उच्च राजनीतिक नेतृत्वसमेत संलग्न देखिएपछि यो प्रकरणमा सिआइबीले किर्तेमा संलग्न भूमाफिया र कर्मचारीमाथि अनुसन्धान केन्द्रित गरेको छ । संगठित अपराध र किर्ते मुद्दामा अनुसन्धान भइरहेकामा कतिपय अभियुक्त विदेशसमेत भागिसकेका छन् । सिआइबीले ६० दिनसम्म अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न सक्ने भए पनि छिट्टै अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । 

यो मुद्दामा धेरै अनुसन्धान पहिला नै भइसकेकाले सकेसम्म छिटो प्रतिवेदन बुझाउन भनिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए । अनुसन्धान सुरु भएको ४० दिन हुँदा पनि सिआइबीले अझै उच्चपदस्थलाई पक्राउ गर्न सकेको छैन । 
 

ad
ad