१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शीर्ष नेतासँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:५६:oo

दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसिसी अनुदानको परियोजना एक महिनापछि कार्यान्वयन हुने चरणमा पुगेको र यसका लागि सहयोग गरेकोमा नेपालका शीर्ष नेताहरूलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार बेग्लाबेग्लै शिष्टाचार भेटमा लुले सहयोगका लागि शीर्ष नेतालाई धन्यवाद दिन काठमाडौं आएको बताए । उनले एमसिसीका वरिष्ठ अधिकारीले चाँडै नेपाल भ्रमण गर्न लागेको पनि जानकारी दिएका छन् । 

एकदिने औपचारिक भ्रमणका लागि लु शुक्रबार ढाकाबाट आएका थिए । अमेरिकी उपविदेशमन्त्री उजरा जिया नेतृत्वको टोलीले भारत र बंगलादेशको भ्रमण गरेको थियो । नेपालमा भने लु मात्रै आएका हुन् । एमसिसी संसद्बाट पारित हुनुअघि पनि उनी नेपाल आएका थिए । पछि शीर्ष नेताहरूसँग उनले टेलिफोन कुराकानीसमेत गरेका थिए ।

काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा, देउवासँग उनको निवासमा, ओलीसँग एमाले मुख्यालयमा र परराष्ट्रमन्त्री साउदसँग सिंहदरबारमा शिष्टाचार भेट गरेका थिए । ‘एमसिसी अनुदानअन्तर्गतको परियोजना अर्को महिनादेखि कार्यान्वयनमा जाँदै छ । यहाँसम्म आइपुग्दा तपाईंहरूको सहयोग रह्यो । यसका लागि धन्यवाद दिन आएको हुँ भन्ने कुरा उहाँले राख्नुभयो,’ एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने ।

नेपाललाई निरन्तर सहयोग गरेकोमा अमेरिकालाई शीर्ष नेताले धन्यवाद दिएका थिए । शीर्ष नेताहरूले अमेरिकी अनुदानको एमसिसी परियोजनाको कार्यान्वयनमा आफ्नो दलका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले नेपालको विकासमा एमसिसी अनुदानबाट निर्माण हुने विद्युतीय प्रसारण लाइन र सडक विस्तारले सहयोग पुर्‍याउने पनि जनाएका छन् । एमसिसी परियोजना कार्यान्वयनमा कतैबाट अवरोध नहुने उनको विश्वास थियो ।

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना पुस्तिकामा श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्रीसँगको शिष्टाचार भेटका क्रममा बालुवाटार पुगेका लुले प्रधानमन्त्री प्रचण्डप्रति सहानुभूति व्यक्त गरेका हुन् । उनले स्वर्गीय दाहालको तस्बिरमा पुष्पार्पणसहित मौनधारण पनि गरेका थिए । 
 

ad
ad