हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक बेँसीसहर–चामे सडक बन्द भएको छ ।
सडक खण्डअन्तर्गत मनाङ खण्डमा दुईवटा खोलामा राखिएको काठेपुल भाँचिएपछि मर्मतका लागि सडक बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मनाङले सार्वजनिक सूचना प्रकाशित गर्दै काठेपुल भाँचिएको र सो स्थानमा वैकल्पिक सडक नभएकाले तत्कालै अर्काे काठेपुल निर्माण गर्न बिहीबार बिहान १० बजेदेखि शुक्रबार बेलुका ५ बजेसम्म सडक बन्द गरी नयाँ काठेपुल निर्माण गर्न लागिएको जानकारी दिएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका योजना प्रमुख रवीन्द्रलाल दासका अनुसार मनाङको चामे गाउँपालिका– १ स्थित तिमाङ पावरहाउस खोला र वडा नम्बर ३ स्थित स्यार्कु खोलाको काठेपुल भाँचिएकोले मर्मतका लागि सडक बन्द गरिएको हो ।